close

क्रिकेटमा नेपालकै तीव्र गतिको बलरको खोजीमा वर्ल्डलिङ्क

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १९:३९

क्रिकेटमा नेपालकै तीव्र गतिको बलरको खोजीमा वर्ल्डलिङ्क

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसनले ‘बिट द स्पिड’ (Beat the Speed) अभियान सञ्चालन गरिरहेको छ । तीव्र गतिको बलरको खोजी गर्ने उद्देश्यसहित कम्पनीले वैशाख २० गतेदेखि यो अभियान सञ्चालन गरेको हो । यसअन्तर्गत नेपालभर १८ भन्दा बढी सहरमा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अभियानमा दुई हजारभन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए । बिर्तामोड सहरबाट सुरु भई दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगंज, हेटौंडा, काठमाडौं, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा यो अभियान सफलतापूर्वक गरिएको कम्पनीले जानकारी दिएको छ । 

यो अभियान नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा आयोजना भएका यस अभियानबाट उत्कृष्ट सात फास्टेस्ट बलरहरू काठमाडौंमा अन्तिम  प्रतिस्पर्धाका लागि छानिएका छन् । यसअन्तर्गत लुम्बिनीबाट प्रदिप जैसवाल, हेटौंडाबाट राहुल कुमार यादव, घोराहीबाट आयुष ओली, काठमाडौंबाट मिलन लुइँटेल, बुटवलबाट सन्देश थापा, महेन्द्रनगरबाट रबि दमाई र धनगढीबाट आयुष द्वारीया अन्तिम सात प्रतियोगीको रूपमा छानिएका छन् ।

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योगा, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने वर्ल्डलिङ्कले जनाएको छ ।

यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नईस्थित प्रतिष्ठित “एमआरएफ पिस फाउन्डेसन”मा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ ।

यस प्रतिस्पर्धाका सम्पूर्ण गतिविधिहरु सहितको श्रृङ्खला वर्ल्डलिङ्क कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण गरिनेछ । साथै यसको विजेता घोषणा समेत सोही भिडिओ मार्फत गरिनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ । 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १९:३९