close

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने ५ सरकारी कर्मचारी पक्राउ

टेकपाना टेकपाना

असार २, २०८१ २०:५८

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने ५ सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) जारी गरेको आरोपमा चार जना सरकारी कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्ला स्याङ्जा घर भई यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख रहेका ४५ वर्षीय उपसचिव केशव अर्याल, नवलपरासी घर भई यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, पाल्पा घर भई तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत ३३ वर्षीय शाखा अधिकृत सुवास पौडेल रहेका छन् । 
त्यस्तै तनहुँ जिल्ला घर भई यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत ३० वर्षीय सहायक कम्प्युटर अपरेटर राजेश लम्साल र सिराहा घर भई यातायात व्यवस्था कार्यालय जनकपुर धनुषामा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलिपकुमार साह रहेका छन् ।

यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली (Electronic Driving License- EDL ) लागु हुनुभन्दा अगाडि ड्राइभिङ लाइसेन्स प्रणाली कार्यान्वयनमा रहेको ईडीएल (Electronic Driving License EDL) प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्र पेपरकार्ड विधि मार्फत यातायात व्यवस्था कार्यालयले ईडीएल प्रणालीमा इन्ट्री गरी सवारीचालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था रहेको थियो ।

यसरी पेपरकार्ड विधि मार्फत यातायात व्यवस्था कार्यालयले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरण इन्ट्री गरेका थिए ।

त्यसैको आधारमा गैरकानुनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि त्यस काममा संलग्न कर्मचारीमाथि अनुसन्धान भएको थियो  उनीहरूले लिखत सम्बन्धी कसुर गरेको खुलेपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ २०:५८