close

बिजुली गाडीमा कर बृद्धिको असरः १ लाख रुपैयाँले महँगियो टियागो ईभी

टेकपाना टेकपाना

असार ३, २०८१ १९:४९

बिजुली गाडीमा कर बृद्धिको असरः १ लाख रुपैयाँले महँगियो टियागो ईभी

काठमाडौं । भारतीय सवारी निर्माता कम्पनी टाटाको टियागो ईभीको मूल्य एक लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत सरकारले विद्युतीय सवारीमा कर बढाएपछि कम्पनीले टियागो ईभीको मूल्य बढाएको हो । 

नेपालमा टाटाको गाडी सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार टाटा मोटर्ससँग छलफल गरेर नेपालमा यसको मूल्य एक लाख रुपैयाँले बढाइएको हो । “बजार हेर्‍यौं । त्यसपछि हामीले कम्पनी (टाटा) सँग कुरा गर्‍यौं,” उनले भने, “कर अनुसार कति बढाउँदा ग्राहकलाई सहज हुन्छ भन्ने विश्लेषण गरेरै टियागोका सबै मोडेलमा एक लाख रुपैयाँ बढाएका हौं ।”

नेपालमा टियागोका ५० किलोवाटसम्मका ईभी बिक्री हुँदै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० किलोवाटसम्मका विद्युतीय गाडीमा पाँच प्रतिशत अन्तःशुल्क लगाउने र भन्सार दस्तुरमा पाँच प्रतिशत नै वृद्धि गरेको छ । यसअघि ५० किलोवाट क्षमतासम्मका ईभीमा अन्तःशुल्क थिएन भने भन्सार दर १० प्रतिशत रहेको थियो । अब भने सो किसिमका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । 

मूल्य बढ्नु अघि नेपालमा टियागो ईभीको सुरुवाति मूल्य २६ लाख ४९ हजार रुपैयाँ थियो । यसलाई हेर्दा साढे दुई लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म मूल्य वृद्धि हुने अपेक्षा गरिएको थियो । तर, कम्पनीले बजारको माग र उपभोक्ताको आकर्षणलाई हेरेर सबै भेरियन्टमा न्यूनतम रकम बढाइएको जनाएको छ ।

हाल स्टकमा टाटाका अन्य मोडेल नरहेकाले सोमा भने मूल्य वृद्धि कति हुन्छ भन्ने कुरा कम्पनीले यकिन गरिसकेको छैन । 

 

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १९:५२