close

आफूलाई काम नदिई २० वर्षसम्म पूरा तलब दिने टेलिकम विरुद्ध एक महिलाले हालिन मुद्दा

टेकपाना टेकपाना

असार ७, २०८१ २०:४६

आफूलाई काम नदिई २० वर्षसम्म पूरा तलब दिने टेलिकम विरुद्ध एक महिलाले हालिन मुद्दा

काठमाडौं । फ्रान्सकी एक महिलाले आफूलाई कुनै जिम्मेवारी नदिने तर पनि २० वर्षसम्म पूरा तलब दिने आफ्नो रोजगारदाता विरुद्ध मुद्दा दायर गरेकी छिन् । ल्युरेन्स भान वासेनहब अपाङ्गता भएकी महिला हुन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर दुर्व्यवहार र विभेद गरिएको भन्दै दूरसञ्चार कम्पनी अरेन्ज विरुद्ध मुद्दामा जाने निर्णय लिएको भीएन एक्सप्रेसमा उल्लेख छ । फ्रान्स टेलिकमले अरेन्जको नियन्त्रणमा जानु अघि सन् १९९३ मा वासेनहबलाई भर्ना गरेको थियो ।

फ्रान्स टेलिकम उनको शारीरिक सीमितताको विषयमा जानकार थियो - उनी शरीरको एक भाग नचल्ने गरी पक्षघात ब्यहोरी रहेकी थिइन् र उनलाई एपिलेप्सी नामक रोगले गाँजेको थियो । त्यसका बाबजुद कम्पनीले उनलाई सुहाउँदो जिम्मेवारी दिएको थियो ।

वासेनहबले सन् २००२ सम्म एक सचिवको रूपमा तथा मानव संसाधन शाखामा काम गरेकी थिइन्, जति खेर उनलाई फ्रान्सको अर्को क्षेत्रमा स्थानान्तरणका लागि आग्रह गरिएको थियो । तर अरेन्जले भने व्यवस्थापनको कुनै पनि अन्य विकल्पलाई अस्वीकार गर्‍यो ।

कामका लागि कुनै जिम्मेवारी नदिए पनि उनलाई पूर्ण तलब भने दिइरह्‍यो । यसरी आफूलाई निष्कासन नगरिकन जागिरबाट वञ्चित गरेको वासेनहबले बताएकी छिन् ।

"बहन गर्नै गाह्रो"

द सनका अनुसार धेरै मानिसहरूका लागि काम नै न गरिकन तलब दिने कुरा सपना जस्तो लाग्न सक्छ, ती फ्रान्सेली महिला भन्छिन्, "यो सहन गर्न निकै कठिन विषय हो ।" सन् २०१५ मा उनले सरकार र विभेद विरुद्ध लड्ने उच्च प्राधिकरणमा एक उजुरी दायर गरेकी थिइन् ।

त्यसपछि अरेन्जले यो मामिला सल्टाउन एक मध्यस्थकर्ता नियुक्त गरेको थियो । यद्यपि, त्यसपछि पनि आफ्नो अवस्थामा कुनै सुधार नभएको दाबी वासेनहबको रहेको छ । "काम नगरी घरमा बसी बसी तलब पाउनु कुनै विशेषाधिकार होइन । यो सहन निकै गाह्रो हुने कुरा हो," उनले भनेकी छिन् ।

उनका वकिल डेभिड नाबेत मार्टिनले समेत दाबी गरेका छन् कि एक्लै हुनु पर्दा ती महिला डिप्रेसनमा गएकी थिइन् । अर्कोतर्फ अरेन्जको दाबी छ कि आफूले उनका लागि उत्कृष्ट वातावरणमा काम गर्नका लागि सम्भव भएसम्मका सबै चिज सुनिश्चित गरेको थियो ।

टेलिकम कम्पनीले भनेको छ कि उसले उनलाई जिम्मेवार र योजनाबद्ध रूपमा चाहेको पदमा काममा फर्किने "व्यक्तिगत सामाजिक परिस्थिति" उपलब्ध गराएको थियो । तर वासेनहबको निरन्तरको बिरामी बिदाले गर्दा त्यो कुरा सम्भव हुन नसकेको कम्पनीको भनाई छ । 

 

पछिल्लो अध्यावधिक: असार ७, २०८१ २०:४६