close

चाहेजस्तै गीत तथा सङ्गीत सिर्जना गर्न सघाउने ‘निःशुल्क’ ५ एआई टुल

सञ्जीवन राई सञ्जीवन राई

असार १०, २०८१ १२:१९

चाहेजस्तै गीत तथा सङ्गीत सिर्जना गर्न सघाउने ‘निःशुल्क’ ५ एआई टुल

काठमाडौं । एआईको द्रुत विकासका कारण अहिले च्याटबट तथा इमेज जेनेरेटर अर्थात् तस्विर सिर्जना गर्ने एआईले निकै चर्चा पाइरहेका छन् । तर, एआई त्यतिमा मात्रै सीमित छैन । 

यदि तपाईं सङ्गीतमा रुचि राख्नु हुन्छ भने सो काम पनि एआईले गरिदिन सक्छ । एआई म्युजिक जेनेरेटर टुलबाट तपाईंले आफूलाई मन पर्ने सङ्गीत बनाउन सक्नु हुन्छ । आज हामी यस्ता केही टुलबारे चर्चा गर्दै छौं । 

यदि तपाईंलाई शब्दमा गीत लेख्न आउँदैन भने त्यसका लागि च्याटजीपीटी जस्ता एआई च्याटबट प्रयोग गर्न सक्नु हुन्छ, जसले तपाईंले दिएका केही शब्द वा थिमको आधारमा गीतहरू लेखिदिन सक्छन् । 

१. सुनो  (Suno)

यो एक प्रकारको टेक्स्ट टु म्युजिक जेनेरेटर अर्थात् शब्दहरूबाट सङ्गीत सिर्जना गर्ने टुल हो । यसमा अकाउन्ट खोलेपछि करिब दुई मिनेटसम्मका सङ्गीत तयार पार्न सकिन्छ । यसको राम्रो पक्ष भनेको तपाईंले आफ्नै शब्द पनि राख्न सक्नुहुन्छ । जसलाई तपाईंले इन्स्ट्रुमेन्टल ट्रयाकदेखि इन्डी सम्मका विधामा सङ्गीत राख्न सक्नुहुन्छ । 

सङ्गीत तयार भएपछि तिनलाई तपाईंले लिङ्कबाट कपी गर्न अथवा डाउनलोड गर्न सक्नुहुन्छ । तर यसमा तपाईंले मासिक ५० ओटा मात्र गीत सिर्जना गर्न सक्नुहुन्छ । त्यसभन्दा बढी सङ्ख्यामा गीत बनाउन तपाईंले मासिक आठ अमेरिकी डलर तिर्नु पर्ने हुन्छ ।

टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । 

२. सङआर (SongR) 

साइन अप नगरी एआई म्युजिक तयार पार्ने टुल हो, सङआर । यसबाट शब्द तयार पार्नेदेखि आफैंले शब्द भर्न पनि मिल्छ । त्यसपछि कुनै एउटा विधा चयन गरेर गीत तयार पार्न सकिन्छ । 

जसमा पप, हिपहप, क्याफे, पियानो रक, इन्डी लगायतका विधा छान्ने सुविधा छ । यसका साथै गीत तयार पार्ने क्रममा आवाज पनि तपाईंले छनौट गर्न सक्नुहुन्छ । यसबाट एक मिनेटभन्दा बढीको गीत तयार पार्न सकिन्छ । जसलाई शेयर तथा डाउनलोड गर्न पनि मिल्छ ।

टुल प्रयोग गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

३. म्युजिक एफएक्स (MusicFX) 

यो गुगलको एआई टुल हो । कुनै पनि ब्राउजरबाट सजिलै पुग्न सकिने यो एआई टुलबाट केही सेकेन्डमै इन्ट्रुमेन्टल म्युजिक तयार पार्न सकिन्छ । तर यसमा तपाईंले आफ्नै शब्द राख्ने सुविधा भने पाउनु हुन्न । यसका साथै आवाज पनि रोज्न सकिन्न । त्यसमाथि ७० सेकेन्डसम्म मात्र सङ्गीत बनाउन सकिन्छ । जसलाई तपाईंले लुपमा राख्ने तथा विभिन्न सेटिङ मिलाउन भने पाउनु हुन्छ । यसबाट सङ्गीत बनाउन यहाँ क्लिक गर्नुहोस् ।


४. उडिओ (Udio) 

सङ्गीत सिर्जना गर्नका लागि यो अर्को राम्रो टुल हो । यसमा तपाईंले केही सेकेन्डसम्मका गीत बनाउन सक्नुहुन्छ । यसको सहयोगमा  आफ्नै शब्द राख्न, एआई टुललाई शब्द लेख्न लगाउन सकिन्छ । त्यस बाहेक तपाईंले इन्स्ट्रुमेन्टल ट्रयाक पनि बनाउन सक्नुहुन्छ । यसमा तपाईं आफूले गीत बनाउने मात्र नभई अन्य प्रयोगकर्ताले बनाएका गीत सुन्न पनि सकिन्छ । यसमा उपलब्ध विधा पनि धेरै छन् । तर तपाईंले नि:शुल्क योजनामा दैनिक १० ओटा मात्र क्रेडिट पाउन सक्नुहुन्छ । त्यसभन्दा बढीका लागि हो भने तपाईंले शुल्क तिर्नु पर्ने हुन्छ । यो टुलमा जान यहाँ क्लिक गर्नुहोस् । 

५. बिटओभन एआई (Beatoven AI)

नि:शुल्क प्रयोग गरेर सङ्गीत तयार पार्न सकिने अर्को एआई टुल हो, बिटओभन । यसमार्फत तपाईंले कपीराइट नलाग्ने सङ्गीत बनाउन सक्नुहुन्छ । माथिका एआई टुल जस्तै यसमा पनि तपाईंले अकाउन्ट भने खोल्नु पर्ने हुन्छ । यसमा अकाउन्ट बनाउने क्रममा कुन प्रयोजनका लागि सङ्गीत बनाउन खोजेको भन्ने प्रश्न सोधिन्छ । जसै तपाईंले त्यसको उत्तर दिनुहुन्छ, त्यसपछि नयाँ विन्डो खुल्छ । त्यसको सबैभन्दा माथि तपाईंले प्रम्प्ट लेख्ने ठाउँ पाउन सक्नुहुन्छ, जसमा तपाईंले सङ्गीतको लम्बाइ, विधा जस्ता जानकारी खुलाउनु पर्ने हुन्छ । यो टुलमा धुन मात्र बनाउन सकिन्छ । अर्थात् यसमा शब्द अथवा आवाज भर्न मिल्दैन । तर यसको एउटा राम्रो पक्ष के हो भने प्रम्प्टका आधारमै चार ओटासम्म म्युजिक ट्रयाक बनाउन सकिन्छ । यो टुल चलाउन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १२:२०