close

एयरपोर्टमा नक्कली फ्रि वाई-फाई राखी प्रयोगकर्ताको डेटा चोर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार १६, २०८१ १४:४२

एयरपोर्टमा नक्कली फ्रि वाई-फाई राखी प्रयोगकर्ताको डेटा चोर्ने व्यक्ति पक्राउ

काठमाडौं । एयरपोर्टमा नक्कली वाई-फाई छोडेर प्रयोगकर्ताको डेटा चोरी गरेको आरोपमा अष्ट्रेलियामा एक जना पक्राउ परेका छन् । अष्ट्रेलियन फेडेरल पुलिस (एएफपी)ले ‘एभिल ट्विन’ (नक्कली वाई-फाई छोडी डेटा चोर्ने काम) स्क्याम गरेको आरोपमा ४२ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो । 

पर्थ, मेलबर्न, एडिलेड जस्ता सहरका विमानस्थलमा ती व्यक्तिले सक्कली वाई-फाईको नक्कली कपी बनाएका थिए । विशेषगरी उनले सक्कली वेबसाइटकै नक्कली भर्सन तयार पारेर त्यसलाई निःशुल्क उपलब्ध गराएका थिए ।

अष्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार त्यस्ता वाई-फाईमा कनेक्ट गर्दा वेब पेज खुल्थ्यो । उक्त वेबपेजमा ईमेल वा सामाजिक सञ्जाल प्रयोग गरेर मात्र लगइन गर्न मिल्थ्यो । त्यसरी लगइन गर्दा सबै डेटा ती व्यक्तिको डिभाइसमा पुग्थ्यो । त्यसबाहेक उनले ती नक्कली वेबसाइटको सहायताले मानिसहरूका व्यक्तिगत डेटा, फोटो भिडिओ, बैंकिङ विवरण लगायतका जानकारीमा पहुँच पाएका थिए । 

गत अप्रिलमा विमानस्थलका कर्मचारीले त्यहाँ शङ्कास्पद वाई-फाई नेटवर्क देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले १९ अप्रिलमा पर्थ विमानस्थलबाट फर्किएका ती व्यक्तिमाथि खानतलासी गरेको थियो । त्यस क्रममा उनीको लगेजबाट विभिन्न वायरलेस पोर्टेबल डिभाइस, ल्यापटप र मोबाइल फोन नियन्त्रणमा लिई अनुसन्धान गर्दा ‘एभिल ट्विन’ स्क्याममा उनको संलग्नता पुष्टि भएको हो । 

सार्वजनिक स्थलमा निःशुल्क वाई-फाई प्रयोग गर्दा भीपीएन प्रयोग गर्न एएफपीले सुझाव दिएको छ । विशेषगरी त्यस्ता वाई-फाई प्रयोग गर्दा फाइल शेयरिङ डिसेबल गर्न, संवेदनशील एपहरू नखोल्न र प्रयोग गरिसकेपछि 'नेटवर्क फर्गेट' गर्न एएफपीले अनुरोध गरेको छ । 

त्यस्तै सार्वजनिक स्थानमा जाँदा वाई-फाईको अप्सन अफ गर्न र स्वतः कनेक्ट हुने फिचर हटाउन सुझाव दिइएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असार १६, २०८१ १४:५०