काठमाडौं । पोखराको ईकमर्स साथी नामक कम्पनीले वेब डेभलपमेन्ट र यूएक्स तथा यूआईसम्बन्धी नि:शुल्क तालिम दिने भएको छ । कम्पनीले सात दिने नि:शुल्क अनलाइन तालिम आयोजना गर्न लागेको हो ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा लाने र व्यक्तिगत वेबसाइट समेत बनाउने क्रम बढ्दै गएको छ । यस्तो बेला डेभलपरहरू उत्पादन गर्न तालिम आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय कुमालले जानकारी दिए ।
नेपालमा वेबसाइट बनाउनु पूर्व कस्तो डिजाइन गर्ने, कुन कुन रङ प्रयोग गर्ने, कसरी प्रयोगकर्तामैत्री बनाउने भन्नेबारे पूर्व योजना बनाउने अभ्यास समेत खासै नभएको उनको बुझाई छ । त्यसैले यस किसिमको अभ्यासमा जोड दिन यूएक्स तथा यूआईको तालिम दिन लागिएको उनले बताए ।
तालिम यही ३१ असारबाट प्रत्येक दिन साँझ ७ बजेबाट सुरू हुनेछ । वेबसाइट डेभलपमेन्टको तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, निःशुल्क थिम र प्लगिन प्रयोग गरी ‘रियल–टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’ सिकाइने कम्पनीले जनाएको छ ।
त्यस्तै यूएक्स तथा यूआई अन्तर्गत कलर साइकलजी, डिजाइन थिङ्किङ प्रोसेस, वायर फार्मिङ, प्रोटोटाइपिङ, एनिमेसन, युजेबिलिटी टेस्टिङ, प्रोजेक्ट शोकेसबारे सिकाइने छ ।
तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्नेछन् । तर प्रत्यक्ष भने सय जनाले मात्र सिक्न पाउँछन् । अन्य इच्छुकलाई युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । निःशुल्क तालिममा जोडिन यहाँ क्लिक गरी फाराम भर्नुहोस् । युट्युबमार्फत सहभागी हुन यहाँ क्लिक गर्नु हाेस् ।