काठमाडौं । बंगलादेशी ह्याकरको निशानामा नेपाली साइबर क्याफे* पर्न थालेका छन् । हालै एक टेलिग्राम च्यानलमा लिक स्क्रिनशट अनुसार नेपालका केही साइबर क्याफेमा रहेका डेटा ह्याकरकाे नियन्त्रणमा पुगेका छन् ।
साइबर क्याफेले सर्वसाधारणका लागि नेपाल प्रहरीकाे चारित्रिक प्रमाणपत्रको आवेदन भर्दा प्राप्त हुने डेटा ह्याकरले लिएका हुन् । तर ह्याकरले भने नेपाल प्रहरी अन्तर्गत रहने प्रहरी चारित्रिक प्रमाणपत्रको वेबसाइटमाथि नै साइबर आक्रमण गरेको भनेर भ्रम फैलाइरहेका छन् । यसका लागि टेलिग्राम च्यानलमा उक्त वेबसाइटबाट लिइएको डेटा भन्दै स्क्रिनशट राखिएका छन् ।
नेपाल प्रहरी स्रोतले भने वेबसाइटमा कुनै तेस्रो पक्षको पहुँच नभएको भन्दै ह्याकरको दाबी गलत भएको बताएको छ ।
टेलिग्राम च्यानलमा लिक स्क्रिनशटमा अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र लिन वेबसाइटमा अकाउन्ट खोलेका व्यक्तिको लगइन र प्रहरीले उपलब्ध गराएको प्रमाणपत्रका विवरण देख्न सकिन्छ । तर अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र दर्ता प्रणालीको वेबसाइटमा कुनै समस्या नआएको साइबर ब्युरोका एक अधिकारीले बताए । उनका अनुसार प्रहरीको वेबसाइटमा नभइ अनलाइन फारम भरिदिने साइबर क्याफेबाट डेटा चुहिएको हो ।
साइबर सुरक्षा क्षेत्रका एक जानकारले नेपाली ह्याकरसँग बदला लिन बङ्गलादेशी ह्याकरले सर्वसाधारणको डेटा सार्वजनिक गरिदिएको बताएका छन् ।
उनका अनुसार केही दिनअघि ‘एनोनिमस नेपाल’ नामको नेपाली ह्याकर समूहले बङ्गलादेशी प्रहरीको वेबसाइटको विभिन्न सबडोमेनमाथि आक्रमण गरेको थियो । त्यसैको प्रतिशोध साध्न बङ्गलादेशी ह्याकरले प्रहरी चारित्रिक प्रमाणपत्र लिने नेपाल प्रहरीको वेबसाइटमा आक्रमण गरेको उनको भनाइ छ ।
(*यसअघि प्रकाशित समाचारमा गलत तथ्य भएको पाइएकाले भुल सुधार गरिएको छ । -स. )