close

नेपाल आउँदै २५ सिटे विद्युतीय बस, मूल्य ९० लाख रुपैयाँ

टेकपाना टेकपाना

साउन ४, २०८१ १५:१४

नेपाल आउँदै २५ सिटे विद्युतीय बस, मूल्य ९० लाख रुपैयाँ

काठमाडौं । नेपाली बजारमा भेन्ची ब्रान्डको २५ सिटे विद्युतीय बस आउने भएको छ । नेपालका लागि भेन्चीको आधिकारिक वितरक शशिला मोटर्स प्रालिले यो ईभी नेपाल ल्याउने भएको हो । 

टेकपानासँग कुरा गर्दै शशिला मोटर्सका महाप्रबन्धक अशोकराज सुवेदीले दशैंअघि यो गाडी नेपाल आउने बताए । 

“हामीले दशैंअघि यो बस नेपाल ल्याउने तयारी गरेका छौं,” सुवेदीले भने, “भदौ अन्तिमसम्म डेमो पिस आइपुग्छ होला ।”

नेपाली बजारमा ८९ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यस गाडीको बुकिङ खुला भइसकेको छ । सुवेदीका अनुसार अहिले एक लाख रुपैयाँ तिरेर यो बस प्रि-बुक गर्न सक‍िन्छ । 

कस्तो छ विद्युतीय बस ?

यो बस नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ । सिटको सङ्ख्या र त्यसको गुणस्तरको आधारमा बसको भेरियन्ट छुट्याइएको छ । २५ सिट भएको भेरियन्ट सहर केन्द्रित हुनेछ भने २२ सिट भएको भेरियन्ट लामो दूरीमा केन्द्रित हुनेछ । २२ सिट भएको भेरियन्टको सिट लक्जरी हुने बताइएको छ । 

यो बसले ३०० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ । कम्पनीका अनुसार यस बसमा १२३ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ । ४०० न्यूटनमिटर टर्क दिने यस बसमा १४० किलोवाट क्षमताको मोटर राखिएको छ । 

यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ । कम्पनीले यसमा आठ वर्ष वा चार लाख किलोमिटरको वारेन्टी दिने जनाएको छ ।

 

 

 

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १५:५१