close

गुगल प्ले स्टोरबाट एकसाथ डिलिट हुन सक्छन् लाखौं एप, यस्तो छ कारण

टेकपाना टेकपाना

साउन ७, २०८१ १४:२०

गुगल प्ले स्टोरबाट एकसाथ डिलिट हुन सक्छन् लाखौं एप, यस्तो छ कारण

काठमाडौं । गुगल एन्ड्रोइडलाई आईओएस जस्तै सुरक्षित र भरपर्दो बनाउने दिशामा जुटेको छ । पछिल्ला महिनामा तपाईं हामीले एन्ड्रोइडमा थुप्रै आईफोनमा जस्तै फिचर आइरहेको देखिरहेका छौं ।

एन्ड्रोइड १५ सुरक्षा तथा गोपनीयता सम्बन्धी एउटा पूर्ण सेटको रूपमा रहेको छ । यद्यपि एन्ड्रोइड आईफोनको तुलनामा पछि पर्ने एउटा मामिला हो, खतरनाक एपलाई प्ले स्टोरबाट बाहिर राख्न नसक्नु । गुगल प्ले प्रोटेक्टले थुप्रै प्रयोगकर्तालाई सुरक्षित राख्नुका बाबजुत जोखिम तथा चुनौती भने झन् झन् बढ्दै गइरहेको छ ।

यसै बीच गुगलले यो समस्यालाई हटाउन थप गम्भीर कदम चालेको छ । एन्ड्रोइड १५ ले लाइभ थ्रेट डिटेक्सन फिचर ल्याउँदैछ, जसमा संवेदनशील अनुमति लिने र अन्य एप तथा सेवासँग अन्तरक्रिया गर्ने एपहरूलाई अन-डिभाइस एआईको माध्यमबाट विश्लेषण गर्नेछ र तत्कालै दुर्व्यवहार जन्य एपलाई पहिचान गर्नेछ ।

गुगल अहिले एउटा नयाँ योजनामा काम गरिरहेको छ, जस अन्तर्गत भारी मात्रामा एन्ड्रोइड एपहरूको बिदाइ हुनेछ । जसअन्तर्गत गुगलले दशौं हजार त्यस्ता एपहरूलाई आफ्नो प्लेटफर्मबाट हटाउन सक्छ, जुन कम गुणस्तर र राम्रोसँग काम नगर्ने खाले छन् ।

गुगल प्ले स्टोरमा यस्ता एप रहेका छन्, जो वर्तमान समयमा राम्रोसँग काम गर्दैनन् । साथै केही एप निकै गए गुज्रेको गुणस्तरमा छन्, जसबाट प्रयोगकर्ताको सुरक्षा अनुभव समेत खराब भइरहेको छ । गुगलको तर्फबाट यस्ता एपलाई हटाउन ३१ अगस्ट २०२४ को म्याद तय गरिएको छ ।

यद्यपि कम्पनीले स्पाम तथा न्यूनतम गुणस्तर मापदण्डमा केही परिवर्तन गरेको छ । जसबाट एपको गुणस्तर र त्यसको अनुभव राम्रो बनाउन सकिन्छ । गुगलको नय‍ाँ नीतिमा थोरै सामग्री र सही किसिमले डिजाइन नगरिएका एपलाई हटाइने उल्लेख छ ।

यसमा लिखित सामग्री मात्र रहेका एप, सिङ्गल वालपेपर एप समेत सामेल छन् । यस्ता एपहरू सही तवरमा इन्स्टल समेत नहुने गुनासो आउने गरेको छ । साथै इन्स्टल गर्नासाथ क्र्याश समेत हुने गरेका छन् । गुगलले बताए अनुसार एप स्टेबल, रेस्पोन्सिभ र राम्रो युजर एक्सपिरियन्स युक्त हुनु पर्छ ।

कूल मिलाएर एप स्टोरमा सूचीकृत एप राम्रो गुणस्तर र युजर एक्सपिरियन्स युक्त हुनुपर्छ । यसअघि गुगलले सन् २०२३ मा नीति उलङ्घन गरेको आरोपमा २२ लाख ८० हजार एप प्ले स्टोरबाट हटाएको थियो । साथै दुई लाख एपको सब्मिसन रद्द गरेको थियो ।

गुगलको नयाँ कदमको असर कयौं लोकप्रिय एपहरूमाथि समेत पर्ने आँकलन गरिएको छ । जुन लाखौं सङ्ख्यामा डाउनलोड गरिएका छन् । गुगलले डेभलपरहरूलाई आफ्नो एप स्ट्यान्डर्ड बनाउनका लागि छ साताको समय दिएको छ, सो अवधिभित्र एपलाई युजर फ्रेन्ड्ली र सुरक्षित बनाउनु पर्नेछ । अन्यथा ३१ अगस्ट पश्चात् कम गुणस्तर भएका तथा असुरक्षित लाग्ने एपहरू गुगल प्ले स्टोरबाट हट्नेछन् । 

पछिल्लो अध्यावधिक: साउन ७, २०८१ १४:२०