रुपन्देही । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं २ मा अवस्थित गजेडी माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फैलाइएको गलत सन्देशप्रति गम्भीर आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयले यस्तो गलत प्रचारप्रति कडा भर्त्सना गरेको छ भने संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
अन्य विद्यालयका विद्यार्थीहरूले चुरोट र गाजा पिएको फोटा राखेर गजेडी माध्यमिक विद्यालयका अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई भ्रमित पार्ने प्रयास गरिरहेको विद्यालयले जनाएको छ । 'गजेडी' नामलाई आधार बनाएर गरिएको यो दुस्प्रचार आपत्तिजनक रहेको विद्यालयले जनाएको छ ।
“नेपाली शब्दकोशका अनुसार 'गज' को अर्थ 'हात्ती' भन्ने हुन्छ । यसरी 'गज' आधार पदमा 'डी' जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ । स्थानीय थारु भाषामा 'गजेडी' को शाब्दिक अर्थ 'हात्तीको वासस्थान' भन्ने बुझिन्छ । यहाँका शिक्षाप्रेमी र बुद्धिजीवीका अनुसार साविक गजेडी गाउँबाट गजेडी स्कूलको नामाकरण भई सोहीअनुसार गजेडी गाउँपञ्चायत र बहुदलपछि गजेडी गाविस रहन गएको हो,” विज्ञप्तिमा लेखिएको छ ।
गजेडी गाउँबाट नामाकरण गरिएको यस विद्यालयको नाममा गलत सन्देश फैलाउने प्रयासले विद्यालयको ऐतिहासिक छविमा प्रहार गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, "यी वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी, विभिन्न व्यक्तिहरू र फेसबुक पेजहरूले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको प्रतिष्ठामा प्रहार गर्न खोजिएको विषयप्रति सिङ्गो विद्यालय परिवारले घोर भर्त्सना गर्दछ ।"
विद्यालयले यस्ता आपत्तिजनक क्रियाकलापहरू दोहोरिएमा साइबर कानुन अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको पनि जानकारी दिएको छ । साथै, विद्यालयले सबै अभिभावक र विद्यार्थीहरूलाई यस्ता अनर्गल प्रचारहरूको पछि नलाग्न र विद्यालयको ऐतिहासिकता बुझ्नका लागि आग्रह गरेको छ ।