close

गञ्जी लगाएर मन्त्रीको कुर्सीमा मनाङे, सामाजिक सञ्जालमा चर्को आलोचना

टेकपाना टेकपाना

साउन १२, २०८१ १६:५

गञ्जी लगाएर मन्त्रीको कुर्सीमा मनाङे, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) यति बेला पुन: सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । मन्त्रालयको कार्यकक्षमा गन्जी (स्यान्डो) लगाएको उनको फोटो आज विहानदेखि भाइरल छ ।

फोटोमा मनाङेले शरीरको माथिल्लो भागको कपडा खोलेर गन्जीमात्र लगाएका छन् । उनको कोट छेवैको र्‍याकमा झुन्डिएको समेत देख्न सकिन्छ । र, मनाङे कोहीसँग कुराकानी गरिरहेको देख्न सकिन्छ । उनीसँगै फोटोमा भएका अर्को एक आगन्तुक भने मनाङेको कुरा सुनिरहेका छन् । 

विवादित छवि भएका उनको पछिल्लो फोटोलाई लिएर विभिन्न मिम पेज तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । सामाजिक सञ्जाल एक्समा गजेन्द्रमान श्रेष्ठ लेख्छन्, “यो त अति भो, मनाङे मन्त्री । पद अनुसार रहन सिक । यो तिम्रो जिउ प्रदर्शन गर्ने कुर्सी होइन । मुख्य मन्त्री, हिम्मत भए कारबाही गर यस्ता अनुशासनहिन विरुद्ध ।” 

त्यस्तै नयनन्द्र खत्रीले लेखेका छन्, ‘स्यान्डो मन्त्री मनाङेलाई बाहुला भएको सर्ट दे सरकार साथमा एसी पनि’।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता ज्ञानेन्द्र खड्का लेख्छन्, ‘दीपक मनाङे म नाङ्गै, दलहरू झन् नाङ्गै’ ।

नवराज पन्तले पनि व्यङ्ग गर्दै मनाङेलाई ‘म नाङ्गै’ भनेर पोस्ट गरेका छन् ।

छैटौंपटक मन्त्री बनेका मनाङेको हर्कतलाई लिएर सामाजिक सञ्जालमा कडा टिप्पणी भइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: साउन १२, २०८१ १६:५