काठमाडौं । अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोपमा निलम्बनमा रहेका मुख्यसचिव वैकुण्ठ अर्याललाई विशेष अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका अर्याल आइतबार अदालतमा उपस्थित भएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका डा. अर्यालसहित ११ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।