close

मोबाइल एप शीर्षकमा समेत स्कुलका विद्यार्थीले शुल्क तिर्नुपर्ने !

टेकपाना टेकपाना

साउन १४, २०८१ १०:५०

मोबाइल एप शीर्षकमा समेत स्कुलका विद्यार्थीले शुल्क तिर्नुपर्ने !

काठमाडौं । विद्यालयले मोबाइल एप शीर्षकमा समेत विद्यार्थीबाट शुल्क उठाउन थालेका छन् । बुटवल ११, देवीनगर, रूपन्देही स्थित गार्गी एकेडेमीले विद्यार्थीबाट यस्तो शुल्क लिन सुरु  गरेपछि सो विषय यति खेर चर्चामा छ ।

तर थुप्रै निजी स्कुलको सवालमा भने यो सामान्य विषय हो । राजधानीसहित उपत्यका बाहिरका विद्यालयहरूले जीपीएस लोकेसन ट्रयाकिङ, हाजिरी, गृहकार्य, नतिजा आदि सेवाका लागि विद्यालयको नाममा बनाएका एपको लागि शुल्क उठाउँदै आएका छन् । 

२६ असारमा कक्षा १ का विद्यार्थीको नाममा गार्गी स्कुलबाट काटिएको बिल यतिखेर सामाजिक सञ्जालमा बाहिर आएको छ । जसमा एप बापतको शुल्क भन्दै २०० रुपैयाँ लगाइएको छ । उक्त शुल्क अस्वाभाविक रहेको भन्दै सामाजिक सञ्जालमा समेत विद्यालयको आलोचना भइरहेको छ । 

खासगरी विद्यालयले आफ्नो प्रचारका लागि बनाएको एपका लागि विद्यार्थीबाट शुल्क उठाउनु जायज नभएको कतिपयको तर्क छ । विद्यालयका प्रिन्सिपल भवन अधिकारीका अनुसार एप विद्यार्थीका अभिभावकका लागि तयार पारिएको हो । 

खासगरी विद्यार्थी विद्यालय पुगे नपुगेको जानकारी, शैक्षिक अवस्थाको जानकारी, गृहकार्य गरे नगरेको जानकारी, नतिजा लगायत विद्यार्थीको प्रगतिको रिपोर्ट उपलब्ध गराउने उद्देश्यले विद्यालयले डाइनामिक टेक्नोसफ्टसँग सहकार्य गरेर उक्त एप निर्माण गरेको हो । “हामीले हाम्रो विद्यालयको प्रचार गर्नका लागि नभई विद्यार्थीको रेकर्ड अभिभावकलाई बुझाउन यो एप तयार पारेका हौं,” टेकपानासँगको कुराकानीमा अधिकारीले भने, “यो प्रयोग गर्नै पर्छ भन्ने छैन । जसलाई आवश्यक पर्छ, उहाँहरूले आफ्नो सेवाका लागि प्रयोग गर्ने हो । त्यसका लागि वार्षिक २०० रुपैयाँ शुल्क लाग्छ ।”

सामाजिक सञ्जालमा भनिएको जस्तो एप विद्यालयको प्रचारका लागि नल्याइएको अधिकारीको जिकिर छ । उनले अगाडि भने, “इन्टरनेटको बढ्दो प्रयोगसँगै अभिभावकले घरबाटै आफ्ना बालबालिका माथि निगरानी गर्न सकुन् भन्ने लक्ष्य हाम्रो हो । एप प्रयोग गर्नै पर्छ भन्ने बाध्यता छैन ।

 

पछिल्लो अध्यावधिक: साउन १४, २०८१ ११:१