काठमाडौं । राइड शेयरिङ सेवालाई वैधानिकता दिन खोजिएको भन्दै पोखरामा आन्दोलनरत यातायात मजदुरहरूले पत्रकारमाथि कुटपिट गरेका छन् । पोखराकोपृथ्वी चोकमा सार्वजनिक सवारी चालक र सहचालकहरूले थालेको आन्दोलनको समाचार सङ्कलनका क्रममा रहेका सुरज थापा र विना थापामाथि आइतबार कुटपिट गरेका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पत्रकार कुटपिटको घटनाप्रति ध्यानाकर्षण जनाउँदै विज्ञप्ति जारी गरेको छ । आइतबार जारी विज्ञप्तिमा भनिएको छ, "आन्दोलनरत चालकहरूले दुर्व्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटर समेत तोडफोड गरेका छन् ।
आन्दोलनको पक्षलाई समेत सरोकारवाला र आम मानिसमा सूचना सुसूचित गर्न भूमिका खेल्ने पत्रकार माथि भएको कुटपिट र तोडफोडको घटना अत्यन्त खेद जनक छ । यस्तो घटना प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।" महासङ्घले पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नुका साथै घटनामा संलग्नहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग समेत गरेको छ । "पत्रकारको सवारी साधन र स्वास्थ्यको औषधी उपचारका लागि क्षतिपूर्ति दिलाउन पनि फोनिज माग गर्दछ," महासङ्घले भनेको छ ।
यसैबिच जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले निम्न कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य अगाडि बढाइएको र घाइते दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा-९, शान्ति वन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी रहेका छन् ।
त्यस्तै पोखरा-लामाचौर बस्ने बसका सहचालक १६ वर्षीय प्रशान गुरुङ, लमजुङ सुन्दरबजार घर भई हाल पोखरा-५, जिरो बस्ने ट्याक्सी चालक २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जा आँधिखोला-२ घर भई पोखरा १७, घारीपाटन बस्ने ३५ वर्षीय टङ्कबहादुर क्षत्रीलाई समेत पक्राउ गरिएको छ ।
गण्डकी प्रदेश सरकारले निजी दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनहरूलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागु गर्न लागेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ भने विरोध स्वरूप भाडाका सवारी साधन नचलाई आन्दोलनमा उत्रिएका छन् ।