काठमाडौं । आजभोलि हरेक फोनमा अडिओको सुविधा नहुने भन्ने कुरा नै भएन । तर, कतिपय अवस्थामा अडिओ राम्रो सुनिँदैन । यसले फोनबाट गीत सुन्दा अथवा भिडिओ हेर्दा अनुभव राम्रो बनाउँदैन ।
तर केही तरिका छन्, जसलाई प्रयोग गरेर तपाईंले आफ्नो एन्ड्रोइड फोनको अडिओको गुणस्तर सुधार गर्न सक्नुहुन्छ । आज हामी त्यस्तै केही तरिकाबारे चर्चा गर्दै छौं:
इक्वेलाइजर प्रयोग गर्नुहोस्
अडिओका पनि विभिन्न प्रकार हुन्छन् । अकोस्टिक, बेस आदि । यदि तपाईंले पनि आफ्नो स्वाद अनुसारको गीत सुन्न पाउनु भएको छैन भने इक्वेलाइजर प्रयोग गर्न सक्नुहुन्छ ।
इक्वेलाइजर अथवा ईक्यू अडिओमा हुने विशेष फ्रिक्वेन्सी अथवा रेञ्जलाई मिलाउने एक प्रकारको टुल हो । अहिलेका धेरैजसो म्युजिक स्ट्रिमिङ प्लेटफर्महरूले इनबिल्ट रूपमा नै इक्वेलाइजर दिइरहेका छन् ।
उदाहरणका लागि स्पोटिफाईमा रक, ज्याज, नर्मल जस्ता प्रिसेट पाउन सकिन्छ । यसमा तपाईँले म्यानुअल्लीदेखि स्वचालित तरिकाले इक्वेलाइजर मिलाउन सक्नुहुन्छ ।
डेभलपर अप्सन अन गर्नुहोस्
यो सुन्दा सामान्य लाग्न सक्छ, तर फोनमा डेभलपर अप्सन अन गरेपछि अडिओको गुणस्तर बढाउने थप केही विकल्प फेला पर्छन् । मोबाइल फोनमा डेभलपर अप्सन अन गर्न 'सेटिङ>अबाउट फोन>बिल्ट नम्बर'मा जानुहोस् । त्यसपछि त्यहाँ केही पटक ट्याप गर्नुहोस् ।
यसरी डेभलपर अप्सन अन गरेपछि तपाईँले अडिओ सम्बन्धी केही सेटिङमा पहुँच पाउनुहुन्छ । यहाँबाट तपाईंले विभिन्न 'ब्लुटुथ अडिओ कोडेक्स' छान्न सक्नुहुन्छ । यो भनेको एक प्रकारको सफ्टवेयर फर्म्याट हो । यसले अडिओ डेटालाई कम्प्रेस गरेर इनकोड गरेको हुन्छ । यस बाहेक तपाईंले एचडी अडिओ विकल्प अन गर्न र अडिओ ट्युन गर्न पनि सक्नुहुन्छ ।
अडिओ सोर्स अपग्रेड गर्नुहोस्
कतिपय अवस्थामा डिभाइसको नभएर अडिओको फाइल फर्म्याटका कारणले पनि गुणस्तर कम हुन्छ । उदाहरणका लागि एमपीथ्री (MP3) हरू भरपर्दो भए पनि यस प्रकारका फाइल फर्म्याटमा राम्रो अडिओ हुँदैन ।
किनकि यिनीहरू तुलनात्मक रूपमा सानो आकारका हुन्छन् । तर, एफएलएसी (FLAC) जस्ता फाइल फर्म्याटमा अडिओको गुणस्तरमा गिरावट आउँदैन । जसले गर्दा अडिओ सुन्ने अनुभव पनि राम्रो हुन्छ ।
गुगलको साउन्ड एम्प्लिफायर प्रयोग गर्नुहोस्
माथिका उपाय प्रयोग गर्न तपाईंलाई सकस लागे गुगलको साउन्ड एम्प्लिफायर एप प्रयोग गर्न सक्नुहुन्छ । कतिपय एन्ड्रोइड फोनमा यो एप प्रि-इन्स्टल भएर आएको हुन्छ ।
यदि तपाईंको फोनमा यो फिचर उपलब्ध छैन भने तपाईंले प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न पनि सक्नु हुन्छ । यो एप चलाउन वायर अथवा वायरलेस हेडफोन भने कनेक्ट भएको हुनु पर्छ । जसै एप डाउनलोड गर्नु हुन्छ, त्यसपछि विभिन्न प्रकारका अडिओ सेटिङ तपाईंले सजिलै फोनबाटै मिलाउन सक्नुहुन्छ ।