काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सोल्टिनी (दिदीकी नन्द) नाता पर्ने युवतीको फोटो एडिट गरी अपशब्द क्याप्सन राख्दा एक व्यक्ति कानुनी झमेलामा परेका छन् । रौतहट घर भएका २० वर्षीय ती व्यक्तिले रिसको झोकमा आफ्नी सोल्टिनीको फोटो र भिडिओ एडिट गरी अश्लील क्याप्सन सहित सामाजिक सञ्जालमा राखिदिएका थिए ।
१३ साउन २०८१ मा रौतहट जिल्ला अदालतमा मुखियालाई प्रतिवादी बनाएर अभियोगपत्र दर्ता गरिएको छ । उक्त अभियोगपत्रमा प्रहरीलाई बयान दिने क्रममा प्रतिवादीले आफूले रिसको झोकमा अपशब्दसहित युवतीको फोटो सार्वजनिक गरेको बयान दिएका छन् ।
“चार वर्षअघि मेरो दिदीको बिहे भएको थियो । त्यसपछि म आफ्नो दिदी भिनाजुको घरमा गइरन्थे । त्यही बेला युवतीसँग चिनजान भएको हो । पछि हामीले सँगै फोटो पनि खिचेका थियौं ।”
करिब छ महिनाअघि युवकले भिनाजु अर्थात् युवतीका दाइलाई मेसेन्जरमा भ्वाइस कल गरे । केही कुराकानीपछि फोन राखे । लगत्तै भिनाजुकै मेसेन्जरबाट फेरि भ्वाइस कल आयो । त्यसपछि युवकले फोन उठाए ।
“फोन उठाउने बित्तिकै मलाई विभिन्न किसिमको गालीगलौज गर्न थालिन् । त्यसपछि मैले फोन काटिदिएको थिएँ,” उनले भने, “त्यही गाली गरेको कारणले मलाई रिस उठ्यो अनि १ असारमा बिहान १० बजे ‘मुखिया टाइगर’ नामको मेरो आईडीबाट युवतीको फोटो राखी अपशब्द प्रयोग गरेको हुँ ।”
यसपछि पीडित युवतीका दाइ अर्थात् प्रतिवादी युवकका भिनाजुले निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले मुखियालाई ४ साउनमा पक्राउ गरेको हो ।
प्रतिवादीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा क्षतिपूर्ति भराइदिन मागदाबी गरिएको छ । सामाजिक सञ्जालबाट कसैको चरित्रहत्या गरे एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
१४ साउनमा भएको पूरक पेसीमा न्यायाधीश कुमार मास्केको इजलासले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।