काठमाडौं । विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध पुनः मुद्दा हालेका छन् । यसअघि कम्पनी र त्यसका सीईओ विरुद्ध मुद्दा दिएका मस्कले सोमबार पुनः त्यस कम्पनी विरुद्ध मुद्दा दायर गरेका हुन् ।
उत्तरी क्यालिफोर्नियामा रहेको सङ्घीय अदालतमा मस्कले ओपन एआई, त्यसका सह-संस्थापक ग्रेग ब्रोकम्यान र सीईओ साम अल्टम्यानलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । खासगरी कम्पनी मानवताको हित गर्ने लक्ष्यसहित स्थापना गरिएको र अहिलेको अवस्थामा कम्पनी सुरुवाति लक्ष्यबाट विमुख भएको मस्कको आरोप छ ।
यसअघि पनि मस्कले सोही कारण देखाएर कम्पनी विरुद्ध मुद्दा दायर गरेका थिए । तर, सुनुवाइ हुने क्रममा ओपन एआईले मस्कको ईमेल सार्वजनिक गरिदिएपछि उनले मुद्दा फिर्ता लिएका थिए । उक्त ईमेलमा मस्क र कम्पनीबिच भएको सम्झौता उल्लेख थियो । मस्कले अनावश्यक तर्क गरेर कम्पनीको विपक्षमा लागेको ब्लगमार्फत बताइएको थियो ।
सोमबार दायर गरिएको मुद्दामा मस्कले ओपन एआई पारदर्शी र सुरक्षित हुनुको सट्टा नाफामा केन्द्रित भएको उल्लेख गरेका छन् । सन् २०१५ मा स्थापना भएको ओपन एआईमा मस्क सह-संस्थापकको रूपमा जोडिएका थिए ।
पछि सन् २०१७ मा उनी बोर्डबाट बाहिरिए र कम्पनीलाई बाहिरबाटै आर्थिक सहायता दिन थाले । तर, पछि कम्पनी नाफामुखी बन्दै गएको भन्दै मस्कले ओपनएआई विरुद्ध लागेका हुन् ।
नोभेम्बर २०२२ मा सार्वजनिक भएको ओपनएआईको च्याटबट च्याटजीपीटीले विश्व बजारमा तहल्का मच्चायो । मान्छेकै शैलीमा कुरा गर्न सक्ने च्याटबट बनाएको कम्पनीले चौतर्फी चर्चा पायो । त्यसपछि ओपनएआईलाई माइक्रोसफ्टले आर्थिक सहायता दिन थाल्यो ।
तर, मस्कलाई भने कम्पनीले माइक्रोसफ्टबाट आर्थिक सहायता लिइरहेको चित्त बुझेको थिएन । त्यसैले उनी आर्टिफिसियल इन्टेलिजेन्स मानवताको हितमा नभएको तर्क गर्दै ओपन एआईको आलोचनामा उत्रिए ।
पछि कम्पनीले माइक्रोसफ्टसँग सहकार्य गरेर प्रिमियम भर्सन ल्याएपछि मस्क ओपनएआईको चर्को आलोचक बनेका छन् ।