close

यस्तो छ, १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने तथा लामो समय ब्याट्री टिक्ने भिभो स्मार्टफोन

उष्मा अधिकारी उष्मा अधिकारी

साउन ३०, २०८१ १५:१

यस्तो छ, १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने तथा लामो समय ब्याट्री टिक्ने भिभो स्मार्टफोन

काठमाडौं । ६००० एमएएच क्षमताको ब्याट्री, राम्रो लुक्स, डअुल स्टेरियो स्पिकर, यूआई कस्टमाइजेसनका विविध विकल्प सहितको फोन हो, भिभो वाई २८ । भिभोको वाई सिरिजमा थपिएको यो फोनको सुरुवाती मूल्य नेपाली बजारमा २४ हजार ९९९ रुपैयाँ रहेको छ । आज हामी यो फोनका विशेषताबारे चर्चा गर्ने छौं:

कुरा सुरु गरौं लुक्सबाट । यो फोन हेर्दा निकै आकर्षक देखिन्छ । यसको ब्याक प्यानलमा डेजलिङ टेक्स्चर छ, जसले फोनको लुक्सलाई केही हदसम्म सुधार गरेको छ ।

भिभोका फोनमा प्रायः चम्किलो लुक्स देखिन्छ, तर यस फोनको पछिल्लो भागमा म्याट फिनिश भएकाले औंठाछाप र अन्य दाग देखिँदैनन् । साथै, हातमा फोन राख्दा पनि राम्रो महसुस हुन्छ ।

फोनको पछाडि डुअल क्यामेरा सेटअप छ, जसमा एक फ्ल्यास र डाइनामिक लाइट पनि उपलब्ध छ । फोनको अघिल्लो भागमा पञ्च होल डिस्प्ले दिइएको छ ।

दायाँ भागमा भोल्युम कन्ट्रोलर बटन र फिङ्गरप्रिन्टयुक्त पावर बटन पाउन सकिन्छ । फोनको बायाँ भागमा सिम कार्ड ट्रे छ, जहाँ दुई ओटा न्यानो सिम र एउटा माइक्रो एसडी कार्डको लागि स्पेस दिइएको छ । फोनको तलतिर अडिओ ज्याक पोर्ट, यूएसबी पोर्ट, माइक्रोफोन र स्पिकर पाउन सकिन्छ ।

पञ्च होल डिस्प्ले सहितको यो फोनमा ६.६८ इन्चको आईपीएस एलसीडी डिस्प्ले उपलब्ध छ, जसमा ९० हर्ज र १००० निट्स अधिकतम ब्राइटनेस छ। यो फोनमा बेजल्स खासै देखिँदैनन्, तर तलपट्टि थोरै बढी देखिन्छ । 

अब क्यामेराको कुरा गरौं, जुन सबैलाई चासोको विषय हो । यो फोनमा डुअल क्यामेरा सेटअप छ, जसको मुख्य क्यामेरा ५० मेगापिक्सेलको र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ । फ्रन्ट क्यामेरा ८ मेगापिक्सेलको छ ।

यस फोनले प्रकाश पर्याप्त नपाउँदा कामचलाउ फोटो मात्र खिच्न सकिन्छ, तर प्रकाश मिल्दा स्तरीय फोटो लिन सकिन्छ । क्यामेरामा फिल्टरहरू र लाइट इफेक्टहरू प्रयोग गर्न सकिन्छ । पोर्ट्रेट मोडमा थप ब्युटी विकल्प पनि छ ।

ब्युटी विकल्पबाट स्किन टोन र फेस स्ट्रक्चर मिलाउन सकिन्छ, र पोस्चर विकल्पबाट विभिन्न पोस्चरको साथ फोटो खिच्न सकिन्छ । यो फोन ३० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओ खिच्न सक्षम छ, र भिडिओको गुणस्तर मूल्य अनुसार राम्रै छ । यद्यपि, स्टेबलाइजेसन धेरै राम्रो छैन ।

फोनको मुख्य विशेषता यसको ब्याट्री हो। कम्पनीले यसमा ६ हजार एमएएच क्षमताको ठूलो ब्याट्री दिएको छ, जुन भिभोको पहिलो फोनमा रहेको छ। चार्ज गर्नको लागि कम्पनीले ४४ वाटको एडप्टर उपलब्ध गराएको छ, र ब्याट्री हेल्थमा चार वर्षको वारेन्टी दिइएको छ ।

यसको अर्थ, १,६०० चार्जिङ साइकलपछि पनि ब्याट्री ८० प्रतिशत हेल्थमा चल्ने छ । यो फोन पूरा चार्ज हुन कम्तीमा १ घण्टा ४० मिनेट लाग्छ, र सामान्य प्रयोगमा दुई दिन चलाउन सकिन्छ ।

यो फोन एन्ड्रोइड १४ मा आधारित छ । यसमा भिभोको आफ्नै फनटच ओएस १४ पाउन सकिन्छ । प्रोसेसर भने यसमा मिडियाटेक हेलियो जी८५ दिइएको छ । जुन चार वर्ष अगाडि सार्वजनिक भएको हो । 

सामान्य तरिकाले फोन प्रयोग गर्न, सामाजिक सञ्जाल चलाउन, भिडिओ हेर्न, सामान्य गेम खेल्न यो प्रोसेसरले राम्रै साथ दिन्छ । तर, धेरै हेभी टास्क गर्न भने प्रोसेसर खासै राम्रो राम्रो छैन । फोनको युजर इन्टरफेस (यूआई) पनि प्रयोगकर्तामैत्री नै छ ।  

अब फोनमा उपलब्ध कस्टमाइजेसनका विकल्पहरूबारे कुरा गरौं । यदि तपाईं फोनको डाइनामिक इफेक्टमा जानुहुन्छ भने त्यहाँ तपाईंले चार्जिङ एनिमेसन, फेस रिकग्निसन एनिमेसन लगायतका अरू धेरै कुरा कस्टमाइज गर्न मिल्ने विकल्प पाउनुहुन्छ । 

यस फोनको अर्को रोचक फिचरमा डाइनामिक लाइट पनि पर्छ । तपाईंले फोनको पछाडिको भागमा रिङ जस्तो देख्नुहुन्छ । त्यही नै डाइनामिक लाइट हो । जसलाई इनेबल गरेर कस्टमाइज गर्न सकिन्छ । जस्तो कि कल आउँदा, नोटिफिकेसन आउँदा वा सङ्गीत सुन्दा फरक फरक प्याटर्नको यहाँबाट लाइट बल्छ । 

तपाईं कुनै एपको नोटिफिकेसन नछुटोस् भन्ने चाहनुहुन्छ अथवा डेडिकेटेड एप, डेडिकेटेड कन्ट्याक्टका लागि मात्र पनि तपाईंले यो फिचर प्रयोग गर्न सक्नुहन्छ । मल्टि टास्किङका लागि फोनमा स्लिप्ट स्क्रिन, स्मल विन्डो, स्मार्ट साइडबार जस्ता फिचर छन् । यिनले फोन चलाउने अनुभवलाई रोचक बनाउने गर्छ । 

फोनको अर्को राम्रो कुरा यसमा पाइने डुअल स्टेरियो स्पिकर हो । सामान्यतः बजेट फोनमा हामीले मोनो स्पिकर पाइरहेका हुन्छौं । तर, यसमा कम्पनीले डुअल स्पिकर दिएको छ । त्यो पनि ३०० प्रतिशत भोल्युम बुस्टरका साथ । 

कनेक्टिभिटीका लागि फोनले डुअल ब्यान्ड वाई-फाई सपोर्ट गर्छ भने ब्लुटुथ भर्सन ५ दिइएको छ । सेक्युरिटीको हिसाबले फोनमा पिन, पासवर्ड, फिङ्गरप्रिन्ट, फेस लक पाउन सकिन्छ । साथै पानी तथा धुलोमैलोबाट बँच्ने सन्दर्भमा फोनले आईपी ६४ रेटिङ पाएको छ । 

यसमा ८ जीबी एलपीडीडीआरफोरएक्स (LPDDR4X RAM) र्‍याम  पाउन सकिन्छ, जसलाई भर्चुअल्ली १६ जीबीसम्म बढाउन सकिन्छ । त्यसैगरी ईएमएमसी ५.१ (eMMC 5.1)मा आधारित १२८ जीबी इन्टर्नल स्टोरेज पाउन सकिन्छ । यो स्टोरेज भेरियन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ ।

साथै फोनको अर्को भेरियन्ट भने ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ । त्यस मोडलको मूल्य नेपाली बजारमा २६ हजार ९९९ रुपैयाँ रहेको छ । 

यदि तपाईंलाई टिकाउ ब्याट्री भएको, राम्रो लुक्स सहित ठीकठाक क्यामेरा भएको अनि २५ हजार हारहारीको फोन चाहिरहेको छ भने यो एउटा विकल्प हुन सक्छ ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८१ १५:१४