काठमाडौं । अहिलेसम्म तपाईंले ५-१०-१५ किलोमिटर टाढासम्मका लागि त खानाको अर्डर गर्नु भएको होला । तर यो अन्तरिक्ष यान सयौं किलोमिटर टाढा, त्यो पनि पृथ्वीमा होइन, अन्तरिक्षमा खानाको डेलिभरीका लागि गएको छ । वास्तवमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा फसेका नासाका दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मरका लागि जरुरी सामानको डेलिभरी यसैगरी गरिएको हो ।
बुधबार अर्थात् १४ अगस्टका दिन कजाखस्थानको बैकोनुर कसमडरोमबाट सोयुज रकेटमार्फत उडेको यो कार्गो स्पेस क्राफ्टमा खाना, इन्धन र आवश्यक अन्य सामानहरू राखिएको थियो । जसको जरुरत आईएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूलाई थियो ।
प्रोग्रेस ८९ नामक यो रुसी मानव रहित कार्गो स्पेस क्राफ्ट हो, जसले लगभग तीन टन सामानको आपूर्ति अन्तरिक्ष यात्रीहरूका लागि गरेको छ । रुसी अन्तरिक्ष एजेन्सी रसकोमसको स्पेसक्राफ्ट शनिबार अन्तरिक्ष केन्द्रमा पुगेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो कार्गो स्पेसक्राफ्ट लगभग छ महिनासम्म त्यहीँ रहनेछ र त्यसपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर नष्ट हुनेछ ।
उता अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्रीहरूको कुरा गर्ने हो भने उनीहरूले गएको ५ जुनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि उडान भरेका थिए । आठ दिनमा धर्तीमा फर्किने गरी गएका उनीहरूको अन्तरिक्ष यान स्टारलाइनर जब आईएसएस नजिक पुग्यो, तब त्यसमा समस्या आउन थाल्यो । उसका पाँच थ्रस्टर (रकेटलाई मन्द गति दिने मोटर) बन्द भए । जसले अन्तरिक्ष यानलाई दिशा दिने गर्दछन् ।
त्यसमा रहेको हिलियम पनि सकियो । यस कारण विलियम्स र विल्मरलाई अब अन्तरिक्ष केन्द्रमा तबसम्म रोकिनु पर्ने भएको छ, जबसम्म इन्जिनियर यी प्राविधिक समस्या समाधान गर्न सक्दैनन् । उनीहरू फिर्ता हुने अर्को विकल्प भनेको यस वर्षको अन्त्यतिर जाने एलन मस्कको कम्पनी स्पेस एक्सको एक अन्तरिक्ष यान हो । त्यसै मार्फत उनीहरू धर्तीमा फर्किन सक्नेछन् । किन भने स्टारलाइनर अब सुरक्षित रूपमा फर्किने सम्भावना कम छ ।
स्पेस एक्सको भर पर्दा समेत यी अन्तरिक्ष यात्री २०२५ को फेब्रुअरीसम्ममा मात्रै पृथ्वीमा फर्किन पाउने छन् । साथै धेरै समयसम्म अन्तरिक्षमा रहँदा उनीहरूको शरीरमा प्रतिकूल असर पर्न सक्ने जोखिम पनि उत्तिकै छ । त्यसैले अहिले नासाले दुवै अन्तरिक्ष यात्रीहरूको नियमित स्वास्थ्य जाँच गरिरहेको छ ।