close

चन्द्रमामा जीपीएस सिग्नल प्रक्षेपणमा नासा सफल, अन्तरिक्ष यात्रामा नयाँ युग सुरु हुने अपेक्षा

टेकपाना टेकपाना

फागुन २६, २०८१ १६:४२

चन्द्रमामा जीपीएस सिग्नल प्रक्षेपणमा नासा सफल, अन्तरिक्ष यात्रामा नयाँ युग सुरु हुने अपेक्षा

काठमाडौं । संसारमै पहिलो पटक नासाले सफलतापूर्वक चन्द्रमासम्म जीपीएस सिग्नल (सङ्केत) प्रक्षेपण गर्न सफल भएको छ । नासाको ब्लु घोस्ट मिसन अन्तर्गतको लुनार जीएनएसएस रिसिभर एक्सपेरिमेन्ट (LuGRE) ले पृथ्वीको ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (GNSS) बाट आएका सिग्नल पत्ता लगाएर ट्र्याक गर्न सफल भएको हो ।

यससँगै अन्तरिक्ष नेभिगेसनमा ठुलो उपलब्धि हात लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यो उपलब्धिले चन्द्रमामा सटीक नेभिगेसनको लागि मार्ग प्रशस्त गर्दै नासाको आर्टेमिस कार्यक्रम मार्फत चन्द्रमामा स्थायी उपस्थिति कायम गर्ने दीर्घकालीन लक्ष्यलाई सघाउ पुग्नेछ ।

पृथ्वीमा जीपीएस हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । तर चन्द्रमामा हालसम्म त्यस्तो कुनै पनि नेभिगेसन पूर्वाधार उपलब्ध थिएन । नासाको स्पेस कम्युनिकेसन एन्ड नेभिगेसन (SCaN) कार्यक्रमले एलयूजीआरईलाई भविष्यका चन्द्र मिसनमा जीपीएस प्रविधि समावेश गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिएको छ ।

नासाका एससीएएन व्यवस्थापक केभिन कोगिन्सले यो प्रविधिको उपलब्धिलाई ऐतिहासिक बताएका छन् । उनले भनेका छन्, "यस प्रयोगले चन्द्रमामा जीएनएसएस सिग्नल ट्र्याक गर्न सकिने सम्भावनालाई प्रमाणित गरेको छ।"

एलयूजीआरईलाई मार्च २ मा फायरफ्लाइ एरोस्पेसको रोबोटिक अन्तरिक्ष यान ब्लु घोस्ट ल्यान्डरमार्फत चन्द्रमामा पठाइएको थियो। चन्द्रमाको सतहमा अवतरण गरेपछि रिसिभरले २०,००० किलोमिटर टाढाबाट आएका जीपीएस सङ्केत सफलतापूर्वक पहिचान गर्न सफल भएको हो ।

यो क्षमताले चन्द्रमाको खोज तथा अन्वेषणमा सबैभन्दा ठुलो चुनौतीको रूपमा रहेको खोज नेभिगेसनको समाधान गर्न मद्दत गर्नेछ । हाल अन्तरिक्ष यानहरू जटिल गणना र पृथ्वीतर्फ रहेका धरातलमा-आधारित ट्र्याकिङ स्टेसनहरूसँगको नियमित सञ्चारमा निर्भर हुने गरेका छन् । जुन धेरै समय लाग्ने र स्रोत समेत बढी खपत गर्ने प्रक्रिया हो । यदि चन्द्रमाका लागि विशेष जीपीएस-आधारित प्रणाली विकास गर्न सकिएको खण्डमा त्यसले अन्तरिक्ष यान, ल्यान्डर, र आगामी दिनमा अन्तरिक्ष यात्रीहरूको लोकेसन पहिचान गर्न स्वचालन तथा सटीकता वृद्धि गर्नेछ ।

जीएनएसएस सिग्नल प्रयोग गरेर एलयूजीआरईले अन्तरिक्ष यानलाई तिनीहरूको स्थिति, गति र समय निर्धारण गर्न हाल प्रयोग हुने विधिहरूभन्दा धेरै प्रभावकारी बनाउनेछ । लामो अवधिका मिसन, जस्तै रोभर र भौतिक पूर्वाधार विस्तारका लागि यो प्रविधि महत्त्वपूर्ण हुनेछ । साथै, यो मानव अन्तरिक्षयात्राको लागि पनि उपयोगी हुनेछ, जसले गर्दा अन्तरिक्ष यात्रीहरूले पृथ्वीकै प्रणालीमा मात्र निर्भर हुनुपर्ने अवस्था हट्नेछ ।

विशेष रूपमा एलयूजीआरई नासा र इटालियन स्पेस एजेन्सी (आईएसए) बीचको सहकार्य अन्तर्गत निर्माण गरिएको हो, जसले पहिलो पटक कुनै इटालियन प्रविधिलाई चन्द्रमामा सञ्चालन गर्न सफल बनाएको छ।

दीर्घकालीन रूपमा चन्द्रमाका लागि डेडिकेटेड जीएनएसएस नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ, जसले मिसन लागत घटाउनुका साथै भविष्यका खोज-अनुसन्धानकर्ताहरूको सुरक्षालाई बढाउनेछ । यस्तो पूर्वाधार नासाको आर्टेमिस कार्यक्रमको प्रमुख हिस्सा हुनेछ, जसले सन् २०२७ भित्र मानवलाई चन्द्रमामा पुनः पठाउने र भविष्यमा मङ्गल ग्रहसम्मको यात्रा सम्भव बनाउने लक्ष्य राखेको छ ।

आगामी १४ दिनसम्म नासाले एलयूजीआरईले करिब ३ लाख ६० हजार किलोमिटरको दूरीमा जीएनएसएस सिग्नल कसरी कायम राख्छ भन्ने परीक्षण गर्नेछ । जसबाट भविष्यका चन्द्र नेभिगेसन प्रणालीलाई अझ परिष्कृत बनाउन सघाउनेछ ।

नासाको गडार्ड स्पेस फ्लाइट सेन्टरका फ्लाइट डाइनामिक्स इन्जिनियर जोएल पार्करले भने, "हाम्रो लक्ष्य भनेको अझ प्रभावकारी र एकपछि अर्को चन्द्र मिसन सञ्चालन गर्न सक्षम बनाउनु हो । जसले सबै अन्तरिक्ष-अन्वेषण गर्ने राष्ट्रहरूलाई फाइदा पुर्‍याउनेछ।" वास्तवमा चन्द्रमामा जीपीएस सिग्नल प्राप्त गर्न सकिने क्षमताले अन्तरिक्ष यात्रामा नयाँ युगको सुरुवात गर्नेछ । जहाँ पृथ्वीकै ट्र्याकिङ प्रणालीमा निर्भरता घट्दै जानेछ, र चन्द्र अन्वेषकहरू अझ आत्मनिर्भर भएर अन्तरिक्ष यात्रामा अघि बढ्न सक्षम हुनेछन् ।

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८१ १७:४३