close

बिजुली गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा ऋण दिने

टेकपाना टेकपाना

भदौ ६, २०८१ १५:१४

बिजुली गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी खरिदका लागि सुलभ ब्याजदरमा कर्जा दिने भएको छ । चाडपर्व नजिकिँदै गर्दा बैंकले ‘फेस्टिभ अफर अफ भेहिकल लोन’ कर्जा योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी साधनका लागि बैंकबाट कर्जा लिन सक्नेछन् । बैंकले रातो प्लेटका लागि व्यक्तिगत सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई अधिकतम एक करोड रुपैयाँसम्मको कर्जा दिने जनाएको छ ।

यस योजनामा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्दा गाडीको कोटेसनमा अङ्कित मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बताइएको छ । त्यस्तै, पेट्रोल/डिजेल सवारी साधनको हकमा अधिकतम ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बैंकले उल्लेख गरेको छ ।

ग्राहकहरूले मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्न सक्नेछन् । जसमा कर्जा अवधि अधिकतम सात वर्षसम्मको हुनेछ । बैंकका अनुसार यो कर्जा योजना १ भदौ २०८१ देखि लागू भई कात्तिक मसान्तमा समापन हुनेछ । यो अवधिभर ब्याजदर स्थिर रहने बैंकको भनाइ छ ।

बैंकले कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लिनेछ भने निवेदन दिएको एक हप्ताभित्र कर्जा स्वीकृत गर्नेछ । यो योजना राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १५:१४