close

ब्राजिलमा भएको इन्टरनेसनल लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली विद्यार्थी सहभागी

टेकपाना टेकपाना

भदौ ७, २०८१ १९:३४

ब्राजिलमा भएको इन्टरनेसनल लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपाली विद्यार्थी सहभागी

काठमाडौं । नेपालले इन्टरनेसनल लिङ्ग्विस्टिक ओलम्पियाड (आईओएल) २०२४ मा सहभागिता जनाएको छ । २३ देखि ३१ जुलाईसम्म ब्राजिलको राजधानी ब्रासिलियामा भएको कार्यक्रममा बूढानीलकण्ठ स्कुलका अमस खड्का र सेन्ट जेभियर्स कलेजका कृष यादवले नेपालको प्रतिनिधित्व गरेका थिए ।

यो नेपालको तेस्रो पटकको सहभागिता हो । यसअघि २०१९ मा दक्षिण कोरिया र २०२३ मा बुल्गेरियामा भएको इन्टरनेसनल लिङ्ग्विस्टिक ओलम्पियाडमा पनि नेपालले भाग लिएको थियो ।

इन्टरनेसनल लिङ्ग्विस्टिक ओलम्पियाडमा भाग लिन पुगेका विद्यार्थीहरूलाई ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले स्वागत गर्नुका साथै प्रतियोगितामा उच्च प्रदर्शनका लागि शुभकामना दिएका थिए ।

हिमालयन लिङ्ग्विस्टिक ओलम्पियाड नेपाल (एचएलओएन)द्वारा आयोजित राष्ट्रिय चरणमार्फत खड्का र यादव उक्त अन्तर्राष्ट्रिय ओलम्पियाडमा चयन भएका थिए । एचएलओएनले वार्षिक रूपमा नेसनल लिङ्ग्विस्टिक तथा एआई ओलम्पियाड आयोजना गर्दै आएको छ ।

सीमित स्रोतसाधन र विद्यालय पाठ्यक्रममा भाषाविज्ञान प्रमुख विषय नहुनुका बाबजुद पनि विद्यार्थीहरूलाई उचित तालिम सामग्री र मार्गनिर्देशन प्रदान गर्न यो संस्था प्रयासरत छ ।

नेसनल लिङ्ग्विस्टिक ओलम्पियाडका संस्थापक सदस्य एवं निर्देशकसमेत रहेका त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डा. बलराम प्रसाईंले भने, "विद्यार्थीहरूलाई राम्रो तालिम दिन सकियोस् र भविष्यका लिङ्ग्विस्टिक ओलम्पियाडहरूमा राम्रो परिणाम हासिल गर्न सकियोस् भनेर हामी काम गरिरहेका छौं ।"

पछिल्लो अध्यावधिक: भदौ ७, २०८१ १९:३४