काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा पनि साइबर सेना आउन थालेको बताएका छन् । शनिवार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कलाकार गिरीले राजनीतिमा मात्रै नभई चलचित्र क्षेत्रमा पनि साइबर सेना आएको धारणा राखेका हुन् ।
उनी असोज २४ देखि प्रदर्शनमा आउने ‘चलचित्र छक्का पञ्जा ५’ का सहनिर्माता, लेखक तथा कलाकार हुन् । सोही दिन नै जितु नेपालको मुख्य भूमिका रहेको ‘ज्वाइँ साब’ र विराज भट्ट निर्देशित ‘१२ गाउँ’ चलचित्रको प्रदर्शन मिति घोषणा भएको छ ।
सामाजिक सञ्जालमा आफ्नो चलचित्रको प्रचारको क्रममा ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ का प्रशंसक भेटिन थालेपछि गिरीले यस्तो पोस्ट गरेको हुनसक्ने अनुमान गरिएको छ । अहिले ‘चलचित्र छक्का पञ्जा ५’ को प्रचारमा जुटेका गिरी र उनको समूहले सामाजिक सञ्जालमा गरेका पोस्टहरूमा अन्य चलचित्रकै समर्थनमा प्रशस्त कमेन्ट देख्न सकिन्छ ।
उनले लेखेका छन्: "राजनीतिमा साइबर सेना त सुनेकै हो । अब चलचित्र क्षेत्रमा पनि आएछ । तर ती सेनाका सेनापतिले आफ्ना सेनालाई अरूलाई गालि गर्नुभन्दा आफ्नै प्रचार मात्रै गर्न लगाए हुने..."