काठमाडौं । एमजी मोटर्सको साइबरस्टर ईभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोका क्रममा उक्त ईभी सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाली बजारमा यो ईभीको मूल्य एक करोड ६८ लाख रुपैयाँ तोकेको छ ।
बेलायती ब्रान्ड एमजीको आइकनिक विरासतलाई आधुनिक विद्युतीय आविष्कारसँग जोडेर यो गाडी डिजाइन गरिएको छ । यसलाई एउटा कार मात्र नभएर एक स्टेटमेन्टकै रूपमा कम्पनीले प्रस्तुत गरिरहेको छ ।
३७५ किलोवाट क्षमताको मोटर रहेको यो गाडीले ७२५ अधिकतम ५४४ पीएस तथा ७२५ एनएम टर्क दिन सक्छ । ३.२० सेकेन्डमै शून्यबाट १०० किलोमिटरको गति लिन सक्ने साइबरस्टरले ५०३ किमिभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । जुन १५० किलोवाट डीसी चार्जरबाट ३८ मिनेटमै ८० प्रतिशत चार्ज हुने बताइएको छ ।
गाडीमा १९ इन्चको अलोय ह्विल, सिजर ओपनिङ डोर, फुल्ली इलेक्ट्रिक हुड, लन्च कन्ट्रोल, ७ इन्चको टच स्क्रिन, र्यापअराउन्ड ३ स्क्रिन ककपिट, एन्ड्रोइड अटो तथा एप्पल कार प्ले, आठ ओटा स्पिकर सहितको बोस अडिओ सिस्टम, रियर ह्विल ड्राइभ, १९५ किमि प्रति घण्टासम्मको उच्च गति जस्ता सुविधा यो गाडीमा पाउन सकिन्छ ।
एमजी साइबरस्टर ईभीमा सफ्ट-टप कन्भर्टिभल (हुड नै पछाडि सार्न मिल्ने) रहेको छ, जुन १० सेकेन्डमै खोल्न र बन्द गर्न सकिने बताइएको छ । यसले ५० किलोमिट प्रति घण्टाको गतिमा समेत काम गर्छ । यसबाट सुरक्षित र आरामदायी पन कायमै राखेर खुला हावामा ड्राइभिङको आनन्द लिन सकिन्छ ।
गाडीको लम्बाई ४,५३५ एमएम, चौडाई १,९१३ एमएम, उचाई १,३२९ एमएम र ह्विलबेस २,६९० एमएम रहेको छ । २० एमएमको एलोय ह्विल रहेको यो गाडीमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर राखिएको छ । यसमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री पाउन सकिन्छ ।