काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गत सोमवार टुँडिखेलमा आयोजित गौरा पर्वमा नेताविरुद्ध नाराबाजी गर्नेलाई भिडिओ फुटेजका आधारमा पक्राउ गर्न थालिएको असन्तुष्टि जनाएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले भिडिओ फुटेजमा स्क्रिनिङ गरीगरी नाराबाजीमा संलग्न युवाहरूलाई पक्राउ गरिएको बताए ।
“रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदरबार भित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा त्यसरी समाउन पाइँदैन…,” उनले भने, “विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई पक्राउ गरेको समाचार पनि आइरहेका छन् । कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ । यो उड्ने बेलामा कमिलाको प्वाँख पलाएको जस्तो नहोस् ।”
उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरिका सबैलाई समातेर देखाउन सरकारलाई चुनौती दिए ।
गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायतका नेता विरुद्ध केही युवाहरूले नाराबाजी गरेका थिए ।