close

ब्राजिलमा एक्समाथि प्रतिबन्ध, भीपीएन प्रयोग गरेर चलाए दैनिक १२ लाख जरिवाना तिर्नुपर्ने

टेकपाना टेकपाना

भदौ १५, २०८१ ११:२८

ब्राजिलमा एक्समाथि प्रतिबन्ध, भीपीएन प्रयोग गरेर चलाए दैनिक १२ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ । ब्राजिलमा नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न अदालतको आदेश पालना गरेको भन्दै न्यायाधीश आलेसान्द्रे दे मोराएसले एक्समाथि यस्तो कडा कदम उठाएका हुन् ।

न्यायाधीश मोराएसले एक्सलाई देशैभर तत्काल प्रतिबन्ध लगाउन आदेश दिएका छन् । जसमा यसअघिका अदालतका आदेशहरू पूरा नगरेको र हालसम्म जरिवाना नबुझाएको आरोप लगाइएको छ ।

गत अप्रिलमा गलत सूचना फैलाएको आरोप लगाउँदै न्यायाधीशले दर्जनौं एक्स अकाउन्ट हटाउने आदेश दिएका थिए । तर एक्सका मालिक एलन मस्कले अदालतको निर्णयको कडा आलोचना गरेका थिए । उनले त्यतिबेला भनेका थिए, "स्वतन्त्र अभिव्यक्ति लोकतन्त्रको आधार हो । तर ब्राजिलका गैरनिर्वाचित न्यायाधीशले यसलाई राजनीतिक उद्देश्यका लागि नष्ट गर्दैछन् ।"

ब्राजिलको दूरसञ्चार एजेन्सीले एक्सलाई प्रतिबन्ध लगाउन आवश्यक प्रक्रिया अघि बढाइसकेको बताएको छ । योसँगै अदालतको आदेशको २४ घण्टाभित्र देशैभर एक्स नचल्ने उक्त एजेन्सीले उल्लेख गरेको छ ।

न्यायाधीश मोराएसले एप्पल र गुगललाई आफ्ना एप स्टोरबाट एक्स हटाउन र आईओएस तथा एन्ड्रोइड प्रणालीहरूमा यसको प्रयोग रोक्न पाँच दिनको समयसीमा दिएका छन् । साथै, एक्स चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)जस्ता टुल प्रयोग गर्ने व्यक्तिहरूलाई दैनिक ५० हजार रियल (करिब १२ लाख रुपैयाँ) जरिवाना गरिने भएको छ ।

यो आदेश एक्सले ब्राजिलमा नयाँ कानुनी प्रतिनिधि नियुक्त नगरेसम्म र यसअघि सुनाइएका जरिवानाहरू नतिरेसम्म लागू हुने बताइएको छ ।

यसैबीच, मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्टारलिंकको ब्राजिलमा रहेका बैंक खाताहरू समेत रोक्का गरिएको छ । स्टारलिंकले भने यो निर्णयलाई असंवैधानिक भन्दै एक्सको जरिवानाको जिम्मेवारी आफूहरूले लिन नसक्ने तर्क दिएको छ । एलन मस्कले एक्स र स्टारलिंक दुई फरक कम्पनी भएकाले स्टारलिंकमाथि गरिएको निर्णय अस्वीकार्य भएको बताएका छन् ।

पछिल्लो घटनाले ब्राजिलमा सामाजिक सञ्जालमाथि सरकारले लगाइरहेका प्रतिबन्ध र अदालतको भूमिकाबारे बहस चुलिएको छ । यसअघि पनि ब्राजिलले टेलिग्राम र ह्वाट्सएपजस्ता अन्य सामाजिक सञ्जालमाथि असहयोग गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ १५, २०८१ ११:४२