काठमाडौं । टिकटकमाथि जारी प्रतिबन्ध हटाउने सरकारी निर्णय कार्यान्वयनमा आएको पहिलो दिनमै नेपाल टेलिकमको डेटा खपत १०० जीबीपीएसले वृद्धि भएको छ । कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले टिकटकमाथिको प्रतिबन्ध हटेको पहिलो दिन (गएको शनिबार) डेटा खपत उत्साहजनक रहेको रहेको बताएकी हुन् ।
उनका अनुसार टिकटकमाथि प्रतिबन्ध लाग्नुअघि अर्थात् २७ कात्तिक २०८० अघिको समयमा टेलिकमको वायरलेस नेटवर्कमा २०० जीबीपीएससम्मको डेटा सो एपले खपत गराउँदै आएको थियो ।
“ओटीटी सेवाका कारण आम्दानी घट्दै गएको सन्दर्भमा डेटा प्याक बिक्रीका हिसाबले टिकटकमाथिको प्रतिबन्ध हट्नु सेवाप्रदायक कम्पनीका लागि सुखद विषय हो,” टेकपानासँगको कुराकानीमा उनले भनिन्, “पहिलो दिनमै प्रतिबन्ध अघिको ५० प्रतिशत ब्यान्डविथ खपत पुनःस्थापित भएको छ । अब पुरानै स्थितिमा फिर्ता हुन भने केही दिन लाग्न सक्छ ।”
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा टेलिकम र एनसेल दुवै कम्पनीले गरी करिब तीन अर्ब रुपैयाँ आम्दानी गुमाउनु परेको थियो । टिकटकमाथिको प्रतिबन्ध हटेपछि कम्पनीहरूको आम्दानी कायम राख्न केही सहज हुने अपेक्षा गरिएको छ ।