काठमाडौं । टाटा पन्च ईभी एकैपटक चार सहर चितवन, पोखरा, बुटवल र भैरहवामा उपलब्ध भएको छ । यी सहरमा कार्यक्रम गर्दै सिप्रदी ट्रेडिङले विद्युतीय कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको हो ।
टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, छ ओटा एयरब्याग, वायरलेस चार्जर, फाइभ स्टार सेफ्टी रेटिङ जस्ता सुविधाहरू उपलब्ध छन् ।
सिप्रदीका अनुसार नेपालका मुख्य राजमार्गहरूमा ५० देखि ६० किमि दूरीमा फास्ट चार्जर राख्ने योजना अनुरूप २६ ओटा चार्जर राख्ने काम सम्पन्न भइसकेको छ ।
टाटाका अरू विद्युतीय गाडी आईसीई प्लेटफर्ममा बनेका हुन् । सो ईभी प्लेटफर्मलाई कम्पनीले 'एक्टी डट ईभी' नाम दिएको छ । यो गाडीमा दिइएका कतिपय फिचरहरू टाटाको नेक्सन ईभीमा पनि पाउन सकिन्छ । अन्य केही फिचर भने कम्पनीले पन्च ईभीलाई मात्र केन्द्रित गरेर ल्याएको छ ।
टाटाका अन्य ईभी मोडेलभन्दा भिन्नै भएकाले पनि पन्च ईभीको चार्जिङ पोर्ट विशेष छ । सामान्यतः टाटाका गाडीको चार्जिङ पोर्ट पेट्रोलियम गाडीको पेट्रोल हाल्ने ठाउँमा दिइएको हुन्छ ।
तर, यो गाडीमा कम्पनीले अगाडिपट्टि टाटाको लोगो भएको भागमा चार्जिङ पोर्ट समावेश गरेको छ । उक्त पोर्टमा स्लो चार्जर र फास्ट चार्जर दुवैको विकल्प देख्न सकिन्छ । कम्पनीका अनुसार यो गाडीले ५० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ ।