close

लेबनानमा देशव्यापी रूपमा वाकीटकी र हाते पेजर विस्फोट हुँदा कम्तीमा ३२ को मृत्यु, सयौं अङ्गभङ्ग

टेकपाना टेकपाना

असोज ३, २०८१ १४:२७

लेबनानमा देशव्यापी रूपमा वाकीटकी र हाते पेजर विस्फोट हुँदा कम्तीमा ३२ को मृत्यु, सयौं अङ्गभङ्ग

काठमाडौं । लेबनानमा श्रङ्खलाबद्ध रूपमा ताररहित सञ्चार उपकरणहरू विस्फोट हुँदा दर्जनौं व्यक्तिको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । बुधवार दक्षिण लेबनान र बेरुत वरपरका क्षेत्रमा भएको वाकीटकी विस्फोटमा कम्तीमा पनि २० जनाको मृत्यु र ४५० भन्दा बढी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो घटना मगंलवारको पेजर विस्फोटपछि भएको हो, जसमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने करिब तीन हजार घाइते भएका थिए । 

पछिल्ला दुई दिनको आक्रमण लेबनानमा रहेको सशस्त्र समूह हिज्बुल्लाहका लागि लज्जास्पद रह्यो । उसको इतिहासकै गएगुज्रेको सुरक्षा कमजोरीको फाइदा उठाउँदै आक्रमणकारीहरू हेजबुल्लाहको सञ्चार प्रणालीमा घुस्न सफल भएका छन् ।

राजधानी बेरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबनानमा सशस्त्र समूहले प्रयोग गरेका वाकीटकीहरू पड्किएको बीबीसीले उल्लेख गरेको छ । ती हिज्बुल्लाहको बलियो पकड भएका क्षेत्रहरू हुन् ।

प्रारम्भिक रिपोर्टका अनुसार विस्फोटले प्रमुख बजार र आवासीय क्षेत्रहरूलाई असर पुर्‍याएको छ । घटनापछि इमरजेन्सी सेवा र अस्पतालहरूमा भीड बढेको छ । घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई स्रोत अभावले थप समस्या सिर्जना गरेको छ ।

बीबीसीका अनुसार मङ्गलवारको पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा वाकीटकी विस्फोट भएको थियो । पूर्वी लेबनानका विभिन्न ठाउँहरूमा ल्याण्डलाइन फोन समेत विस्फोट भएको रिपोर्ट आएको छ । 

लेबनानको सञ्चार मन्त्रालयका अनुसार विस्फोट भएका वाकीटकी मोडेल ( IC-V82) हरू जापानी कम्पनी आईकम (ICOM)ले निर्माण गरेको हो । आईकमले​ एक दशक अघि नै यो मोडेल बन्द भइसकेको जनाएको छ । लेबनानको सशस्त्र समूहले आफ्नो सञ्चार प्रणालीमा किन पुरानो र एक्स्पायर्ड वाकीटकी प्रयोगमा ल्यायो भन्नेबारे अहिले बहस भइरहेको छ ।

धेरैजसो डिभाइस (सञ्चार उपकरण) यस्तो बेला विस्फोट भए, जसलाई बोक्नेहरू किनमेल अथवा घरमा परिवारका सदस्यहरूको साथमा थिए । पीडितहरूमा कम्तीमा दुई जना बालबालिका रहेका छन् भने सयौंको आँखा, अनुहार र हातमा चोट लागेको छ ।

यसअघि मङ्गलवार हिज्बुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने 'हाते पेजरहरू' विस्फोटन भएका थिए । यी आक्रमणका लागि लेबनानले इजरायललाई आरोप लगाएपनि इजरायलले आफ्नो भूमिका नकारेको छ । 

लगातारका विस्फोटपछि लेबनानमा थप त्रासदी बढेको छ । बीबीसीका एक प्रोड्युसरले आफ्ना एक साथीबाट एउटा त्यस्तो मेसेज पाए, जसमा फोन समेत विस्फोट हुनसक्ने भन्दै लेबनानको सिम कार्ड फेरेर अन्तर्राष्ट्रिय नम्बर राख्न भनिएको थियो ।

यस किसिमको दुविधा सामाजिक सञ्जालमा फैलिरहेका अनेक खाले अफवाहहरूले झन् बढाइदिएको छ । त्यसमध्ये एक जनाले त सोलार प्यानल समेत उडेकोसम्म भनेका छन् । अब यस्तोमा अगाडि के होला ? के यो हिजबुल्लाहमाथि इजरायल आक्रामक बन्ने कुराको सुरुवात हो ? अनि उक्त समूहले कसरी यसको प्रतिक्रिया दिन्छ होला ? यस्ता विषयमा अनेक प्रश्न उब्जिएका छन् । 

यसैबीच संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुखले यी आक्रमणलाई अन्तर्राष्ट्रिय मानवतावादी कानुनको उल्लंघनको रूपमा लिँदै एक स्वतन्त्र र पारदर्शी अनुसन्धानको आह्वान गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८१ १५:१३