close

तपाईंले फेसबुक र इन्स्टाग्राम राखेका फोटो-भिडिओ लगायतका सबै पोस्ट मेटा एआईको तालिममा

टेकपाना टेकपाना

असोज ७, २०८१ १७:४५

तपाईंले फेसबुक र इन्स्टाग्राम राखेका फोटो-भिडिओ लगायतका सबै पोस्ट मेटा एआईको तालिममा

काठमाडौं । सामाजिक सञ्जालमा कुनै पनि पोस्ट गर्नु डर लाग्दो अवस्था बनिसकेको छ । किनकि तपाईंले गर्नु भएको सार्वजनिक पोस्ट एआई मोडेलको तालिमका लागि प्रयोग गरिन्छन् ।
फेसबुक, इन्स्टाग्राममा पनि आजभोलि एआई टुल एकीकृत गरिएको छ । जसलाई मेटा एआई नाम दिइएको छ । यस एआई टुलको तालिमका लागि प्रयोगकर्ताहरूको डेटालाई प्रयोग गरिने मेटाले केही समयदेखि उल्लेख गर्दै आइरहेको थियो । हालै मेटाले कानुन निर्माता समक्ष यसबारे औपचारिक रूपमा नै स्वीकार गरेको छ ।

मेटाको ग्लोबल प्राइभेसी निर्देशक मेलिन्डा काइबाले उक्त कुरा स्वीकार गरेकी हुन् । गत हप्ता मात्र यो विषय अस्ट्रेलियाली सांसदहरूसँगको छलफलमा पनि उठेको थियो । 

जहाँ ग्रिन पार्टीका सांसद डेभिड शुइब्रिजले मेटाले सन् २००७ देखिका इन्स्टाग्राम र फेसबुकका सार्वजनिक पोस्टलाई एआई मोडेलको तालिमका लागि स्क्र्याप गर्ने (डेटा लिने) निर्णय गरिसकेको कुरा हो वा होइन भनेर सोधेका थिए । उनको उत्तरमा मेटाकी काइबाले त्यसो गरेको ठिक अर्थात् साचो हो भनेर जवाफ दिएकी थिइन् ।

मेटाका अनुसार १८ वर्ष मुनिका प्रयोगकर्ताका डेटा र १८ वर्षमाथिका प्राइभेट पोस्टलाई तालिमका लागि प्रयोग गरिँदैन । भन्नुको अर्थ यदि प्रयोगकर्ताले आफ्नो पोस्टलाई निजी (प्राइभेट) मा परिवर्तन गरेको छ भने तिनलाई मेटाले तालिमका लागि प्रयोग गर्दैन । 

तर १८ वर्ष कटेको अकाउन्टमार्फत गरिएका सबै सार्वजनिक पोस्टहरूलाई भने एआई मोडेलको तालिममा प्रयोग गरिन्छ । यसमा फोटो, भिडिओ, टेक्स्ट आदि सबै पर्ने गर्छन् ।

तर, पहिल्यैका पोस्टलाई अहिले आएर ‘प्राइभेट’ बनाउनु भने बेकार जस्तै हुन्छ । किनकि कुन अकाउन्टबाट मेटाले कहिले र कति मात्रा डेटा लिन्छ भन्ने कुरा सार्वजनिक छैन । खासमा अवस्था कस्तो सिर्जना भएको छ भने यदि तपाईंले आफ्नो पोस्ट सार्वजनिक गर्ने निर्णय लिनुहुन्छ भने ती एआई मोडेलको तालिममा प्रयोग हुने निश्चित छ ।

यद्यपि केही देशहरूको कानूनका कारण प्रयोगकर्ताको पोस्ट सुरक्षित हुने अवस्था पनि छ । उदाहरणका लागि युरोपेली सङ्घका प्रयोगकर्ताहरूलाई यस प्रक्रियाबाट बाहिर निस्कने विकल्प (अप्ट आउट) दिइएको छ । 

ब्राजिलले त मेटालाई ब्राजिली प्रयोगकर्ताहरूको डेटा प्रयोग गरेर आफ्नो एआई मोडललाई तालिम दिन प्रतिबन्ध नै लगाएको छ। 

समग्रमा हामी फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा पोस्ट गर्छौं । तर ती पोस्टका सामग्री कसरी प्रयोग हुन्छ भन्ने कुरामा हाम्रो केही पनि हात हुँदैन । मेटाले आफ्नो तालिमका लागि हाम्रो पोस्ट प्रयोग गर्नु त्यसको एउटा उदाहरण हो ।

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १७:४६