काठमाडौं । आगामी २४ असोजदेखि प्रदर्शनमा आउने चलचित्र ‘ज्वाइँ साब’को एक दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सुरुमा टिकटकमा सार्वजनिक भएको यस दृश्य अहिले अन्य सञ्जालमा पनि फैलिएको छ ।
२३ सेकेन्ड लामो भिडिओमा चलचित्रका मुख्य पात्रहरू जितु नेपाल र नीति शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छन् । जसमा जितु बरखी बार्दा लगाउने सेतो कपडामा सानो बच्चासँगै देखिन्छन् । हातमा पासपोर्ट र झोला बोकी अगाडि हिँडिरहेका जितुलाई खादा र झण्डा बोकेर नीतिले पछ्याइरहेको देखिन्छ ।
चलचित्रको छायाङ्कनका क्रममा लिइएको यो दृश्यले वैदेशिक रोजगारीका लागि जितु विमानस्थल पुगेको सङ्केत गरेको छ । भिडिओमा क्यामेराम्यान, निर्देशक र अन्य व्यक्ति पनि रहेकाले कतिपयले चलचित्र निर्माण टोलीबाटै वा सहमतिमा अन्यले यो दृश्य कैद गरेको तर्क गरेका छन् । केहीले भने चलचित्रको महत्त्वपूर्ण दृश्य नै लिक गरिनु गैरकानुनी हुने टिप्पणी गरेका छन् ।
टिकटकमा चर्चा पाइरहेको यस भिडिओ मङ्गलबार ‘पर्फेक्ट वेडिङ ३१८’ युजरनेम भएको टिकटक आईडीबाट अपलोड भएको देखिन्छ । यो समाचार तयार पार्दासम्म त्यसमा तीन लाख ६० हजार बढी भ्युज आएको छ ।
भिडिओमा प्रविन गौतमको वाटरमार्क रहेको छ । यसबारे गौतमलाई सम्पर्क गर्दा उनले आफैंले फोनबाट उक्त भिडिओ खिचेको बताए । “मैले सोमबार खिचेर उहाँहरू (चलचित्र निर्माण टोली) सँग अनुमति लिएर राखेको हुँ,” टेकपानासँग गौतमले भने, “भिडिओको लिङ्क इन्स्टाग्रामबाट जितु नेपाल दाइलाई पठाइदिएको छु ।”
यस चलचित्रमा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, कमलमणि नेपाल, रमेश बुढाथोकी, निमा पाण्डे, दीपक आचार्य, शिशिर वाङ्देल, कविता आले, राजकुमार पण्डित, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा यस चलचित्रको 'कसम बत्ति' बोलको गीतले चर्चा पाइरहेको छ ।