काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को डीन चयन प्रक्रियामा पाँच जना उम्मेदवारहरू शर्टलिस्टमा परेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को डीन छनोट समितिले ११ आवेदकमध्येबाट शर्टलिस्ट सार्वजनिक गरेको हो ।
समितिले बुधबार सार्वजनिक गरेको सूचीमा प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशील बहादुर बज्राचार्य रहेका छन् । समितिले त्रिविको सावधिक पदमा नियुक्ति प्रक्रियाअनुसार मापदण्डका आधारमा शर्टलिस्ट तयार पारेको जनाएको छ ।
प्राप्त अङ्कका आधारमा उच्चतम ५ जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको हो । प्रशासनिक र प्राज्ञिक अनुभव, विद्यावारिधि, अनुसन्धान लेख, र पुस्तकहरू जस्ता मापदण्डमा उनीहरूलाई अङ्क प्रदान गरिएको समितिले जनाएको छ ।
अब यी शर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता ११ असोजमा त्रिवि उपकुलपति कार्यालय, कीर्तिपुरमा हुनेछ । अन्तर्वार्तापछि छनोट समितिले एक जनालाई डीन पदका लागि सिफारिस गर्नेछ ।
प्राडा शशीधरराम जोशीको कार्यकाल सकिएपछि संस्थान नेतृत्वविहीन छ । डीन छनोटका लागि गत ५ भदौमा त्रिविले पूर्व डीन प्राडा जीवराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।