close

सडकमा फसेका गाडीलाई उद्धार गर्दै ‘टोइङ नेपाल’, कसरी लिने सेवा ?

दीपक पौडेल दीपक पौडेल

असोज १४, २०८१ ८:४०

सडकमा फसेका गाडीलाई उद्धार गर्दै ‘टोइङ नेपाल’, कसरी लिने सेवा ?

काठमाडौं । दुई दिनसम्म निरन्तर परेको झरीसँगै ठाउँठाउँमा गएको पहिरोका कारण देशभरका अधिकांश सडकमार्ग अवरुद्ध छन् । सडक विभागले जारी गरेको पछिल्लो सूचना अनुसार नेपालका कुल राजमार्गमध्ये हाल ५४ राजमार्ग अवरुद्ध छन् भने राजमार्गका ११ ओटा मोटरेबल पुलहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।

यकिन तथ्यांक नभएपनि सडकमा हाल सयौं गाडी अलपत्र अवस्थामा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै पार्किङ स्थलमा समेत बाढी पसेका कारण धेरै गाडी फसेका छन् ।

संघीय राजधानीको छिमेकी जिल्ला ललितपुरको हात्तीवनमा बाटोमै बस फसेर विकराल अवस्था सिर्जना भएको तस्वीर अझै पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यस्तै अवस्थामा गाडीहरूको रक्षक बनेर काम गरिरहेको कम्पनी हो, टोइङ नेपाल । 

मेकानिकल इन्जिनियर समेत रहेका यस कम्पनीका संस्थापक प्रवेश पौडेलले अध्ययनपछि विभिन्न अटोमोबाइल्स डिस्टिब्युटर्सहरूसँग काम गरे । उनी अहिले पनि नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्ससँग आवद्द छन् । कामकै शिलशिलामा उपत्यका बाहिर गइराख्नु पर्ने हुन्थ्यो ।

यसैक्रममा उनले बाटोमा सडक दुर्घटनामा परेर, बिग्रेर वा अन्य कुनै कारणले गाडीहरू अलपत्र परेको देख्थे । एकातिर यसरी बाटोमै गाडीहरू अलपत्र पर्दा सवारीधनीहरूले भोग्नु परेको समस्या थियो भने अर्कोतर्फ तिनै गाडीका कारण परेको ट्राफिक जाम । सोही समस्याको समाधान स्वरूप जन्मिएको हो,टोइङ नेपाल ।

  

के हो टोइङ नेपाल ? कसरी लिने सेवा ? 

सन् २०२० देखि सञ्चालनमा आएको ‘टोइङ नेपाल’ बाटोमा चल्दाचल्दै बिग्रिएका, अनुचित ठाउँमा पार्क गरिएका, दुर्घटना परी नाला, खोल्सा, खोँच तथा नदीमा फसेका सवारीलाई सुरक्षित रूपमा एक ठाउँदेखि अर्को ठाउँमा ढुवानी गरिदिने व्यावसायिक सेवा हो । यस कार्यका लागि 'टो ट्रक र्‍याकर' अर्थात् सवारी साधन उठाउन प्रयोग हुने यन्त्र जडित ट्रक प्रयोग गरिन्छ ।

नेपालमा हाल सरकारी र्‍याकरको अभाव भएका कारण अधिकांश स्थानमा अलपत्र रूपमा रहेका सवारी साधानलाई स्थानान्तरण गर्न ट्र्याक्टर, ट्रक जस्ता अन्य सवारीको प्रयोग गरिन्छ । यसो गर्दा सवारी साधनमा थप क्षति पुग्ने सम्भावना हुन्छ । कतिपय अवस्थामा यस किसिमका गाडीको उद्धारमा लागेका सवारी साधनमा समेत क्षति पुग्ने गर्छ । 

टोइङ नेपालका संस्थापक पौडेलका अनुसार कम्पनीले बाटोमा अलपत्र परेका सवारी साधनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने मात्र नभएर भारत तथा चीनको नाकाबाट देशका जुनसुकै स्थानमा पनि गाडीहरूको सुरक्षित ढुवानीको सेवा दिँदै आएको छ ।

यसबाहेक टोइङ नेपालले नयाँ गाडी किन्ने सोचमा रहेका व्यक्तिहरूलाई परामर्श सेवा दिँदै आएको छ । त्यस्तै कम्पनीले सडक दुर्घटनामा परेका एम्बुलेन्सहरूलाई नि:शुल्क टोइङ सेवा पनि दिँदै आएको छ भने विद्युतीय गाडीहरूको टोइङमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

कम्पनीको सेवा लिन ९८०२३०५०५० वा ९८५१२८१४४६ मा फोन गरेर वा टोइङ नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज वा कम्पनीको आधिकारिक वेबसाइट प्रयोग गर्न सकिन्छ ।

राजमार्गमा बिग्रिएका तथा सडक दुर्घटनामा परेका सवारीसाधन 'टो' गर्नका लागि धेरै अनुरोध आउने गरेको र कम्पनीले सोही अनुरूप सेवा प्रदान गरिरहेको पौडेलले बताए ।

बाढी पहिरो जस्तो विपद्को बेलामा टो गरिनुपर्ने सवारी साधनको चाप थामिनसक्नु भएको उनको अनुभव छ । “सामान्य अवस्थामा हाम्रो पूर्वाधारले भ्याउनै चाप छ, तर विपदको अवस्थामा हामी चाहेर पनि धेरै ठाउँमा पुग्न सकेका छैनौं । उदाहरणकै लागि शुक्रवार र शनिवार हामीकहाँ यति धेरै रिक्वेस्ट आए कि, सेवा दिन नसकेर केही समय रोकिनुहोस् भनेर होल्डमा राखेका छौँ,” उनले भने ।

पौडेलका अनुसार शनिबार मात्र टोइङ नेपालले उपत्यकाबाट ६० ओटा भन्दा बढी गाडीहरू टो गरिसकेको छ भने आइतबार अझ धेरै संख्यामा रिक्वेस्ट आएका छन् । राजमार्गहरू अवरुद्ध भएका कारण उपत्यका बाहिरका रिक्वेस्टहरू अहिले नलिइएको उनले बताए । “राजमार्गहरू अवरुद्ध छन्, त्यसैले उपत्यका बाहिर अहिले हामीले सेवा दिन सकेका छैनौं । सडक सामान्य अवस्थामा आउनासाथ उपत्यका बाहिरका स्थानमा पनि सेवा प्रदान गर्नेछौं,” पौडेलले भने ।                                                       

पछिल्लो अध्यावधिक: असोज १४, २०८१ ८:५१