close

दशैंमा इन्टरनेट अफरको वर्षा: कुन रोज्ने ?

शिव बस्नेत शिव बस्नेत

असोज २१, २०८१ २०:२२

दशैंमा इन्टरनेट अफरको वर्षा: कुन रोज्ने ?

काठमाडौं । दशैंको रंगीन माहोललाई लक्षित गर्दै विभिन्न इन्टरनेट सेवाप्रदायकहरूले विशेष अफर घोषणा गरेका छन् । बजारमा आफ्नो प्रतिस्पर्धात्मक स्थिति मजबुत बनाउन तथा ग्राहक तान्न कम्पनीहरूले चाडबाडको छेको पारी अफर ल्याएका हुन् ।

यसबाट ग्राहक संख्या बढाउन, ब्राण्ड प्रतिष्ठा बढाउन, पुराना ग्राहकहरूलाई टिकाइराख्न तथा प्रतिस्पर्धामा अगाडि रहन सहयोग पुग्ने कम्पनीहरूको विश्वास छ । यसैबीच यस सामग्रीमा ठूला इन्टरनेट सेवाप्रदायकका दशैं अफरबारे चर्चा गर्दैछौं: 

१) वर्ल्डलिङ्क 

देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले चाडबाडका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले इन्टरनेट जडान गर्ने वा नवीकरण गर्नेमध्ये एक ग्राहकलाई नामी ब्राण्डको विद्युतीय कार ‘नामी ०१ ईथ्री’ उपलब्ध गराउने भएको छ । तर, यसका लागि खल्ती वालेटबाट बिल तिर्नुपर्छ ।

त्यस्तै खल्तीबाट भुक्तानी गर्ने अन्य ग्राहकले सामसङका प्रडक्टमा ३९ प्रतिशतसम्मको डिस्काउन्ट भाउचर पाउन सक्नेछन् । यसमा सामसङ फोरके टिभी, वाशिङ मेसिन, स्मार्टफोन, फ्रिज, माइक्रोवेभ लगायत छन् । 

त्यसैगरी अफरमा सहभागी ग्राहकले बोट ब्राण्डका विभिन्न प्रडक्टमा ५३ प्रतिशतसम्म छुट पाउनेछन् । बोट अफरको डिस्काउन्ट भाउचर पाउने ग्राहकले वायरलेस स्पिकर, एयरडप्स र स्मार्टवाचमा छुट प्राप्त गर्नेछन् ।

त्यस्तै इन्टरनेट अपग्रेड गर्न चाहने ग्राहकका लागि पनि विशेष अफर रहेको वर्ल्डलिङ्कले जनाएको छ । 

२) डिशहोम फाइबरनेट 

डिशहोम फाइबरनेटले २०० र ३०० एमबीपीएसको इन्टरनेट जडान गर्ने ग्राहकका लागि विशेष अफर ल्याएको छ । यी दुई प्याकेज खरिद गर्दा ग्राहकले तीन महिना थप बोनस पाउनेछन् ।

२०० एमबीपीएस इन्टरनेटका लागि वार्षिक नौ हजार ७६१ रुपैयाँ तिरेको खण्डमा तीन महिनाको बोनस पाउन सकिन्छ । यसमा निःशुल्क फाइभजी राउटर पाइने छ । 

त्यसैगरी ३०० एमबीपीएसको इन्टरनेट जडान गर्ने ग्राहकले वार्षिक १२ हजार १५० रुपैयाँ तिरेको खण्डमा थप तीन महिनाको बोनस पाउनेछन् । यो प्याकेज खरिद गर्दा पनि फाइभजी राउटर निःशुल्क पाइने छ ।

त्यस्तै यस अवधिमा इन्टरनेट जडान गर्नेमध्ये १२ ग्राहकले विभिन्न आकर्षक उपहार पाउने भएका छन् । साथै डीएचआई होम अप्लायन्सका सामानमा ४० प्रतिशतसम्म छुट, मिभी डुओपड्समा ५४ प्रतिशतसम्म छुट र फायर बल्ट स्मार्टवाचमा ७० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

३) नेपाल टेलिकम (एनटी फाइबर) 

नेपाल टेलिकमले पनि दशैं लक्षित अफर ल्याएको छ । यसअन्तर्गत एनटी फाइबरको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकका लागि जडान शुल्क लाग्ने छैन । त्यस्तै पुराना ग्राहकको हकमा कम्पनीले उही शुल्कमा ब्यान्डविथ बढाइदिएको छ । उदाहरणका लागि ५० एमबीपीएस स्पिडको इन्टरनेट जडान गर्ने ग्राहकका लागि ७५ जीबीसम्म ७५ एमबीपीएस र बाँकी नर्मल स्पिड हुनेछ ।

त्यस्तै ७५ एमबीपीएस जडान गरेका ग्राहकका लागि १०० जीबीसम्म १०० एमबीपीएस र बाँकी नर्मल स्पिड हुनेछ । त्यसैगरी १००, १५० र २०० एमबीपीएसमा क्रमशः १२५ जीबी, १७५ जीबी र २२५ जीबीसम्म क्रमशः १२५, १७५ र २२५ एमबीपीएसमा चल्नेछ । बाँकी भने नर्मल स्पिडमा चल्नेछ । 

अफरबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

४) सुबिसु 

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले चाडबाडको अवसरमा अफर ल्याएको छ । यस अन्तर्गत नयाँ ग्राहकले ३०० एमबीपीएसको इन्टरनेट १४ हजार ४९९ रुपैयाँमा जडान गर्न सक्नेछन् ।अफर नहुँदा यस प्याकेजको वार्षिक मूल्य २० हजार हाराहारी छ ।

त्यस्तै छ वा १२ महिनाको सब्सक्रिप्सन नवीकरण गर्ने ग्राहकका लागि कम्पनीले सीमित अवधिका लागि विभिन्न अफर घोषणा गरेको छ ।

अफरबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

५) भायानेट 

भायानेटले दशैंको अवसरमा ‘उही मूल्य थप स्पिड’ अफर ल्याएको छ । कम्पनीका अनुसार अब १२५ एमबीपीएसको मूल्यमा २०० एमबीपीएस, १५० एमबीपीएसको मूल्यमा २५० एमबीपीएस, २०० एमबीपीएसको मूल्यमा ३०० एमबीपीएस र ३०० एमबीपीएसको मूल्यमा ४०० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

इन्टरनेट नवीकरण गर्ने ग्राहकले पनि सोही मूल्यमा अतिरिक्त स्पिड पाउने कम्पनीले जनाएको छ । 

हाल भायानेटले १२५ एमबीपीएसका लागि करबाहेक वार्षिक नौ हजार रुपैयाँ, १५० एमबीपीएसका लागि नौ हजार ९०० रुपैयाँ, २०० एमबीपीएसका लागि ११ हजार १०० रुपैयाँ र ३०० एमबीपीएसका लागि १३ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ । 

दशैं अफर अन्तर्गत कम्पनीले दुई ओटा मेश राउटर भ्याटसहित तीन हजार रुपैयाँमा उपलब्ध गराउन थालेको छ । इन्टरनेट खरिद गर्ने ग्राहकलाई विभिन्न होम अप्लायन्समा कम्पनीले आकर्षक छुट दिने बताएको छ ।

अफरबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

६) क्लासिक टेक

क्लाशिक टेकले ‘आधा पैसा बच्छ,  दशैं मज्जाले टर्छ’ अफर ल्याएको छ । यस अन्तर्गत कम्पनीले वार्षिक १२ हजार ९९९ रुपैयाँ पर्ने १५० एमबीपीएस इन्टरनेट र टिभी छ महिनाका लागि पाँच हजार २२१ रुपैयाँमा उपलब्ध गराउन थालेको छ । त्यस्तै १३ हजार ४९९ रुपैयाँ वार्षिक शुल्क लाग्ने २०० एमबीपीएस इन्टरनेट छ महिनाका लागि पाँच हजार ५२१ रुपैयाँमा उपलब्ध गराउने भएको छ । 

इन्टरनेट नवीकरण गर्ने ग्राहकका लागि २२५ एमबीपीएस इन्टरनेटको वार्षिक शुल्क १० हजार ७९३ रुपैयाँ कायम गरिएको छ । यसमा २० प्रतिशत नगद छुट, वाई-फाई सिक्स राउटर र तीन महिना बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै यस अफर अन्तर्गत ३२५ एमबीपीएस इन्टरनेट नवीकरण गर्न ग्राहकले वार्षिक ११ हजार ९९९ रुपैयाँ तिरे पुग्छ । यसमा २० प्रतिशत नगद छुट, निःशुल्क वाई-फाई सिक्स राउटर र पाँच महिना बोनसको अफर छ ।

अफरबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

७) वेबसर्फर

वेबसर्फरले दशैंका लागि अफर घोषणा गरेको छ । यस अन्तर्गत ग्राहकले मासिक ५५५ रुपैयाँमा ७० एमबीपीएस इन्टरनेट, ६६६ रुपैयाँमा ८० एमबीपीएस, ७७७ रुपैयाँमा १०० एमबीपीएस, ८८८ रुपैयाँमा २०० र ९९९ रुपैयाँमा ३०० एमबीपीएस स्पिडको फाइबरनेट उपलब्ध गराउने छ ।

यो शुल्क एक वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकको हकमा लागू हुन्छ ।

ग्राहकले एक वर्षको सब्सक्रिप्सन लिँदा २००० रुपैयाँमा आईपीटीभी पाउन सक्नेछन् । त्यस्तै दुई वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकले ५३० रुपैयाँमा ७० एमबीपीएस, ६२० रुपैयाँमा ८० एमबीपीएस, ६३० रुपैयाँमा १०० एमबीपीएस, ६७० रुपैयाँमा २०० एमबीपीएस र ७०० रुपैयाँमा ३०० एमबीपीएस इन्टरनेट पाउनेछन् ।

यो सबै मूल्य करसहितको मूल्य हो । यी सब्सक्रिप्सनमा आईपीटिभी निःशुल्क पाउन सकिन्छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

८) सीजी नेट 

अफर ल्याउनेमा सीजी नेट पनि मिसिएको छ । यस अन्तर्गत १५० एमबीपीएस इन्टरनेट प्याकेज १२ हजार ४९९ रुपैयाँमा जडान गर्न सकिन्छ । त्यसैगरी २५० एमबीपीएस इन्टरनेट १३ हजार ४९९ रुपैयाँ, ३५० एमबीपीएस इन्टरनेट १४ हजार ४९९ रुपैयाँ र ६६६ एमबीपीएस इन्टरनेट १९ हजार ४९९ रुपैयाँमा एक वर्षका लागि जडान गर्न सकिन्छ । 

यी प्याकेज खरिद गर्दा सीसीटिभी र स्मार्ट बल्ब समेत पाउन सकिने भएको छ । त्यसैगरी यसमा १५०० रुपैयाँसम्मको छुट, तीन महिनाको बोनस र तत्काल क्यासब्याकको अफर रहेको छ । साथै बम्पर पुरस्कारमा स्कुटर रहेको छ । हरेक साता नथिङ फोन र इयरबड्स समेत पाउन सकिन्छ ।

त्यसैगरी मासिक रूपमा टिभी र ५० हजार रुपैयाँसम्मको गिफ्ट ह्याम्परको सुविधा पनि रहेको छ । यी सेवा पाउनका लागि ईसेवाबाट शुल्क भुक्तानी गरेको हुनुपर्छ ।

अफरबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

९) ब्रोडलिङ्क

ब्रोडलिङ्क नेटवर्कले फेस्टिभ अफर अन्तर्गत विभिन्न अफर घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले वार्षिक छ हजार ८५० रुपैयाँमा २०० एमबीपीएस इन्टरनेट पाउन सक्छन् । अफर नहुँदा यस प्याकेजको शुल्क आठ हजार ६०० रुपैयाँ रहेको छ । यसमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले उल्लेख गरेको छ । तर, डुअल ब्यान्ड राउटरका लागि दुई हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ । यो रकम पछि फिर्ता पाइन्छ ।

त्यस्तै सात हजार ५०० रुपैयाँमा उपलब्ध हुने १०० एमबीपीएस इन्टरनेट छ हजारमै उपलब्ध हुने भएको छ । यसमा पनि जडान शुल्क लाग्दैन । ग्राहकले दुई हजार रुपैयाँ डुअल ब्यान्ड राउटरका लागि जम्मा गर्नुपर्ने हुन्छ । यो रकम पछि फिर्ता आउँछ ।

त्यसैगरी ५० एमबीपीएस इन्टरनेटका लागि यो अफर अवधिभर पाँच हजार ५०० रुपैयाँ तिरे पुग्छ । अफर नहुँदा यस प्याकेजको शुल्क छ हजार ९०० रुपैयाँ छ । यसमा सिङ्गल ब्यान्ड राउटरका लागि ए‍क हजार र डुअल ब्यान्ड राउटरका लागि २००० रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ, जुन पछि फिर्ता हुन्छ ।

अफरबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

(१०) वाई-फाई नेपाल 

वाई-फाई नेपालले पनि चाडपर्वलाई लक्षित गरेर इन्टरनेट जडान तथा नवीकरण गर्ने ग्राहकका लागि अफर ल्याएको छ । वाई-फाई नेपाल जडान गर्ने वा इन्टरनेट नवीकरण गरी खल्ती वा ईसेवाबाट भुक्तानी गर्ने एक ग्राहकले सुजुकी स्कुटर जित्न सक्नेछन् ।

त्यस्तै हरेक साता एक जनाले टिभी जित्न सक्नेछन् भने अन्यले स्योरशट गिफ्ट ह्याम्पर पाउनेछन् । वाई-फाई नेपालले २४ महिनाका लागि ५० एमबीपीएस इन्टरनेट आठ हजार ४६७ रुपैयाँ र ८० एमबीपीएस इन्टरनेट ११ हजार ८६५ रुपैयाँमा जडान गर्न सक्नेछन् ।

थप जानकारीका लागि यहाँ क्लिक गरेर वाई-फाई नेपालको वेबसाइट भिजिट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २, २०८१ २३:२३