काठमाडौं । सामाजिक सञ्जाल एक्सले क्रियेटरहरूलाई पैसा दिने तरिकामा परिवर्तन भएको छ । हालै एक्सले क्रियटरसँगको आम्दानी वितरण गर्ने नीतिमा परिवर्तन गर्दै यस्तो व्यवस्था गरेको हो ।
“अब तपाईंको पोस्टमा देखिएका विज्ञापनले तपाईंको आम्दानीमा असर गर्नेछैन । बरु प्रिमियम युजरहरूले तपाईंको कन्टेन्टमा गरेको संलग्नताका आधारमा रकम दिइनेछ । जब तपाईंका फलोअरहरूले एक्स प्रिमियम सब्सक्राइब गर्छन् र तपाईंको कन्टेन्टमा संलग्न हुन्छन्, उनीहरूले तपाईंलाई प्रत्यक्ष रूपमा सहयोग गर्नेछन्,” एक्सको पोस्टमा भनिएको छ ।
यससँगै अब कन्टेन्टमा आएको भ्युज नभएर प्रिमियर युजरहरूले कन्टेन्टमा बिताउने समयका आधारमा एक्सले क्रियटरहरूलाई पैसा दिनेछ । यसको अर्थ जति धेरै प्रिमियम युजरहरूले कुनै क्रियटरको पोस्टमा लाइक, कमेन्ट वा रिट्वीट गर्छन्, त्यति नै धेरै क्रियेटरले कमाउनेछ।
यस परिवर्तनले क्रियेटरहरूको कमाइलाई अझ बढाउने एक्सको विश्वास छ । तर क्रियटरहरूले आफ्ना पोस्टमा कृत्रिम तरिकाले भ्युज बढाउन खोजे उनीहरूको मनिटाइजेसन रोकिने छ ।
एक्सको यस नीतिले प्रिमियम युजरको संख्या अझ बढ्ने र उनीहरूको सक्रियता अझ बढी हुने अनुमान गरिएको छ । अन्तमा यस परिवर्तनले एक्सलाई फाइदा पुग्ने देखिन्छ । किनकि क्रियटरको कमाइ उसलाई फलो गर्ने प्रिमियम युजरहरूमा निर्भर हुने छ । यसअघि क्रियेटरहरूले आफ्ना पोस्टमा देखिने विज्ञापनबाट पैसा कमाउने गर्थे ।