काठमाडौं । इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय र 'वेब्याक मेसिन' साइबर आक्रमणको शिकार बनेपछि केही दिनका लागि बन्द भएको छ । बुधबार ह्याकरले आक्रमण गरेपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय 'इन्टरनेट आर्काइभ' डाउन भएको हो ।
इन्टरनेट आर्काइभका संस्थापक ब्रुस्टर कहलका अनुसार यो सेवा केही दिनभित्र पुनः सञ्चालन हुनेछ । यो आक्रमणपछि ह्याकरले तीन करोड १० लाखभन्दा बढी इमेल एड्रेस, प्रयोगकर्ताको नाम र पासवर्ड परिवर्तन गरेको समय जस्ता व्यक्तिगत विवरणहरू लीक गरेको छ ।
सामान्यतया खुला रहने इन्टरनेट आर्काइभको वेबसाइट अहिले “अस्थायी रूपमा अफलाइन” देखिन्छ । वेब्याक मसिनका लिङ्कहरू पनि लोड हुन सकिरहेका छैनन्।
"डेटा सुरक्षित छ । सेवालाई थप मजबुत बनाउनका लागि अफलाइन गरिएको हो । यो आवश्यक थियो । इन्टरनेट आर्काइभको टोली कठिन परिश्रम गरिरहेको छ । अबको केही दिनमा यो साइट पुनः सञ्चालनमा आउँनेछ," कहलले भने ।
ह्याकरले इन्टरनेट आर्काइभलाई ठूलो सुरक्षा ब्रिचको गरेको गरेको दाबी गरेका थिए । ‘ह्याभ आई बिन पौन्ड’का संस्थापक ट्रोय हन्टले आक्रमणका कारण लिक भएको डेटा फाइल आफूले प्राप्त गरेको पुष्टि गरेका छन् । यसैले यदि कसैको जानकारी हानिकारक फाइलमा परेको भए उनले तुरुन्त जानकारी पाउन सक्छन् ।
अहिले यो आक्रमणको प्रभावलाई समाधान गर्न इन्टरनेट आर्काइभको टोलीले काम गरिरहेको छ र सेवा पुनःस्थापित गर्न केही दिन लाग्ने बताइएको छ ।