काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं.८ घर भई हाल धरान बस्दै आएका ४२ वर्षीय नयन्द्रकुमार राई रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय धरानसँगको समन्वय साइबर ब्युरोले सोमबार नियन्त्रणमा लिएको हो । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आरोपी राईले हिन्दु धर्मको विरोध गर्दै भिडिओ पोस्ट गरेका थिए ।
ब्युरोको टोलीले सामाजिक सञ्जाल निगरानी गर्ने क्रममा एउटा अकाउन्टबाट धार्मिक सहिष्णुतामाथि आघात पुऱ्याउने किसिमको पोस्ट फेला पार्यो । त्यही पोस्टलाई लिएर अनुसन्धान गर्ने क्रममा त्यसमा राईको संलग्नता भेटिएको प्रवक्ता अवस्थीले बताए ।
आरोपी राईमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।