काठमाडौं । दुबईले दुनियाँलाई अचम्मित बनाउन कुनै कसर बाँकी छोड्दैन । गगन चुम्ने भवन, विश्वकै गहिरो स्विमिङ पुलदेखि फ्युचरिस्टिक आर्किटेक्चर हुँदै आरामदायी जीवनशैलीका विविध पक्षमा दुबई अगाडि छ । त्यसैमा पछिल्लो समय इन्टरनेटमा भाइरल एक घटनाले पनि दुबईलाई थप चर्चा दिएको छ ।
भिडिओमा एक युवती मरुभूमिको बीच भागमा पर्खिरहेकी देखिन्छिन् । त्यसपछि फोन निकालेर त्यसमा राइड हेलिङ एप उबर खोल्छिन् । त्यसमा ऊँटको विकल्प देखेपछि उनी चकित पर्छिन् ।
दुबई-हट्टा सडकको अल बडायरमा खिचिएको भनिएको यस भिडिओमा महिलाहरूले उबर एप स्क्रोल गर्दै गरेको देखिन्छ । खासमा उनले तत्कालको उद्धार खोजिरहेको देख्न सकिन्छ । तर, उनीहरूले एटीभी (बालुवा, ढुङ्गा आदिमा कुदाउन बनाइएको चार पाङ्ग्रे सवारी) मात्र नभई ऊँटसमेत अर्डर गर्न सकिने विकल्प भेट्दा अचम्भित हुन्छन् ।
भिडिओमा महिलामध्ये एकले आफ्नो अवस्था बताइरहेको सुन्न सकिन्छ । “हामी हरायौं र उबर एप खोल्ने निर्णय गर्यौं,” उँटलाई गाडीझैं सजिलै अर्डर गर्न सकिने देख्दा अचम्भित हुँदै उनी भन्छिन् । केही समयपछि एक जना व्यक्ति ऊँट लिएर आइपुग्छन् । जसले महिलाहरूलाई रमाइलो र आश्चर्यचकित बनाउँछ । उँट नजिक आउँदा उनीहरूमध्ये एक युवती भन्छिन्, “हामी हरायौं र ऊँट अर्डर गर्यौं !”
'जेटसेट दुबई' नामको इन्स्टाग्राम अकाउन्टबाट शेयर भएको छ । १० अक्टोबरमा शेयर गरिएको सो भिडिओमा एक लाख बढी लाइक आएको देख्न सकिन्छ । उक्त अकाउन्टले आफूहरू दुबईमा एटीभी उपलब्ध गराउनेदेखि अन्य विविध सेवाहरू दिने दाबी गरेको छ ।
यो वास्तविक घटना हो वा काल्पनिक हो भन्ने विषयमा धेरैले शंका व्यक्त गरेका छन् । खासगरी मरुभूमिको बीच भागमा हराएको भनिए पनि त्यो ठाउँ बीच भाग जस्तो नदेखिएको केही प्रयोगकर्ताको शंका छ । त्यसैगरी उँटको नम्बर समेत उपलब्ध गराइएको विषयले धेरैको ध्यान खिचेको छ ।