close

खुल्यो देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले लाइसेन्स पाउने बाटो

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ १६:३२

खुल्यो देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले लाइसेन्स पाउने बाटो

काठमाडौं । कानुनी अस्पष्टता कारण लाइसेन्स विहीन बनेको देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र नेपालकै पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी मर्कन्टाइलले लाइसेन्स पाउने बाटो खुलेको छ । गएको सोमबार राजपत्रमा प्रकाशित दूरसञ्चार नियमावली संशोधनले २५ वर्ष पूरा गरेका यी दुई कम्पनीलाई पुनः अनुमतिपत्र प्राप्त गर्ने विकल्प खुला गरेको हो । 

मर्कन्टाइलले ९ चैत २०५५ र वर्ल्डलिंकले १६ चैत २०५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पाएका थिए । २५ वर्षका लागि दिइएको दुवै कम्पनीको लाइसेन्स गएको चैतमै समाप्त भएपछि उनीहरू अहिले लाइसेन्स विहीन रूपमा सञ्चालनमा छन् ।

त्यसो त दूरसञ्चार ऐनको दफा ३३ (४) अनुरूप पुनः अनुमतिपत्रका लागि लाइसेन्स अवधि समाप्त हुनुभन्दा तीन महिना अगावै उनीहरूले नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएका थिए । तर नयाँ लाइसेन्स जारी गर्ने कि नवीकरण गरिदिने, लाइसेन्स दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष शुल्क कति राख्ने भन्ने लगायतका विषयमा अन्योलता उत्पन्न भएपछि नियामकले उनीहरूको लाइसेन्स उपर कुनै निर्णय लिन सकेको थिएन । 

यस विषयमा कानुन स्पष्ट नरहेको भन्दै प्राधिकरणले नेपाल सरकार समक्ष अनुरोध गरेको थियो । सोही अनुरोधको आधारमा नियमावली संशोधन गरिएको हो । संशोधित नियमावलीले २५ वर्षे लाइसेन्स अवधि पूरा गरेका सेवा प्रदायकलाई नयाँ सरह पुनः अनुमतिपत्र प्रदान गर्ने व्यवस्था गरेको छ । 

तर यसका लागि साबिकको लाइसेन्सको सर्त बमोजिमको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष शुल्क लगायतका बक्यौता भने कम्पनीहरूले बुझाउनु पर्नेछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ १६:३२