काठमाडौं । ब्लुटुथ सबै स्मार्टफोनमा उपलब्ध हुने एउटा यस्तो फिचर हो, जसले दुई डिभाइस बीच बिना इन्टरनेट अडियो, भिडिओ, डकुमेन्ट लगायत अन्य प्रकारका फाइल शेयर गर्ने सुविधा दिन्छ । साथै यो निःशुल्क रूपमा उपलब्ध हुन्छ र यसलाई प्रयोग गर्नका लागि कुनै पैसा तिर्नु पर्दैन ।
यसका साथै ब्लुटुथको मद्दतबाट प्रयोगकर्ताले आफ्नो फोनलाई टिभी, एसी लगायतलाई कन्ट्रोल समेत गर्न सक्छन् । ब्लुटुथको पछिल्लो भर्सन ६.० सार्वजनिक भइसकेको छ । आज हामी तपाईंलाई यही भर्सनको बारेमा बताउँदै छौं ।
ब्लुटुथ स्पेसल इन्ट्रेस्ट ग्रुप (एसआईजी) ले ब्लुटुथको पछिल्लो भर्सनलाई अन्तिम रूप दिइसकेको छ र चाँडै नै हामीले यसलाई सपोर्ट गर्ने डिभाइसहरू देख्न थाल्नेछौं । अधिकांश समय ब्लुटुथको नयाँ भर्सन आउँदा वास्तवमै हामीले देख्न सक्ने खाले फाइदा खासै नदेखिने शब्द र विभिन्न सङ्ख्या सहितको शिट आइरहेको हुन्छ ।
तर यस पल्ट भने केही उल्लेखनीय भिन्नताका साथ ब्लुटुथको नयाँ भर्सन आएको छ । जसबाट हामी उपभोक्ताले केही परिवर्तनको महसुस गर्न सक्ने छौं ।
अब विभिन्न डिभाइस बनाउने कम्पनी र सफ्टवेयर सोलुसन तयार पार्ने व्यक्तिहरूले ब्लुटुथ कनेक्सनको स्थिरता, डेटा स्पिड र ब्याट्री लाइफमा सुधार ल्याउन यो नयाँ भर्सन प्रयोग गर्नेछन् । यो हाम्रा स्मार्टफोनलाई इयरबड्स, स्मार्टवाच, फिटनेस ट्रयाकर लगायतका डिभाइसलाई जोड्ने नयाँ तरिका हुनेछ ।
ब्लुटुथ ६.० तपाईंको डिभाइसलाई अन्य डिभाइससँग अझ राम्रोसँग कनेक्ट गराउन सक्छ । यसबाट तपाईंको डिभाइसले छिटो छरितो रूपमा काम गर्नेछ र ब्याट्री खपत कम हुनेछ । ब्लुटुथ ६.० ले डिभाइस ट्रयाकिङलाई अझ बढी सटीक बनाउँछ । तपाईँ आफ्ना हराएका सामान सहजै खोज्न सक्नु हुनेछ । तपाईंले यसमा अझ राम्रो साउन्ड क्वालिटी प्राप्त गर्न सक्नु हुन्छ ।
ब्लुटुथ ६.० भर्सनमा इनर्जी इफिसेन्सीमा सुधार ल्याइएको छ । जसले तपाईंको डिभाइसको ब्याट्री लाइफ बढाउन सक्छ । यसमा नयाँ कोडिङ प्रविधि उपयोग गरिएको छ । जसबाट डेटा ट्रान्सफरको स्पिड तीव्र हुन्छ ।
साथै तपाईंको डिभाइसको सफ्टवेयर छिटो अपडेट हुनेछ । आगामी दिनमा आउने नयाँ स्मार्टफोनमा ब्लुटुथ ६.० को सपोर्ट प्राप्त हुने अपेक्षा गरिएको छ । साथै नयाँ लञ्च हुने इयरबड्स, स्मार्टवाच र अन्य डिभाइसमा समेत ब्लुटुथ ६.० को सपोर्ट प्राप्त हुन सक्छ ।