काठमाडौं । भ्लगर रतन कार्कीले हालै एक भिडिओमार्फत दिएको अभिव्यक्तिलाई लिएर नेपाल प्रहरीले अनुसन्धान थालेको छ । साफ महिला च्याम्पियनशिप २०२४ को फाइन खेलका क्रममा युट्युबर कार्कीले भिडिओ स्टोरीमा राख्दै व्यक्ति मार्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले निगरानीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । “अहिले यस विषयमा साइबर ब्युरोले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ,” प्रवक्ता कार्कीले टेकपानासँग भने, “आवश्यक परेको खण्डमा इन्टरपोलमार्फत नियन्त्रणमा लिने प्रक्रिया सुरु हुन्छ ।”
युट्युबर कार्की केही वर्षअघि विद्यार्थी भिसामा जापान गएका थिए । जापानबाट उनी विभिन्न किसिमका भिडिओ बनाउँदै पोस्ट गर्ने गर्छन् ।
कार्कीले कात्तिक २४ गते राखेको फेसबुक स्टोरी (भिडिओ) केही व्यक्तिले स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा राखेका थिए । भिडिओमा रतनले भनेका छन्, “तपाईंहरू फुटबल हेर्दै हुनुहुन्छ, म अर्कै चिज हेर्दैछु । आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ । आज गरिएन भने हामी धेरै पछुताइन्छ ।”
उनको यो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको केही सामाजिक सञ्जाल प्रयोगकर्ताको दाबी छ । यद्यपि उनले ओलीको नाम लिएका छैनन्, न त अनुहार नै देखाइएको छ । पृष्ठभूमिमा भने दशरथ रङ्गशालामा सुरु भएको नेपाल र बङ्गलादेशबीचको खेलको भिडिओ देखिन्छ ।
उक्त खेल हेर्न प्रधानमन्त्री ओली प्रमुख अतिथिका रूपमा पुगेका थिए । व्यक्तिको नाम तोकेर अभिव्यक्ति नदिएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ता रतनको समर्थनमा उभिएका छन् ।