close

अलिपेप्लस नेटवर्कमार्फत नेपालपे क्यूआरमा भुक्तानी लिन एभरेस्ट बैंक र एनसीएचएलबिच सम्झौता

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १३:२७

अलिपेप्लस नेटवर्कमार्फत नेपालपे क्यूआरमा भुक्तानी लिन एभरेस्ट बैंक र एनसीएचएलबिच सम्झौता

काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरूबाट नेपालपे मर्चेन्ट क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसमा अन्तर सञ्चालित क्यूआरका मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन र इटली लगायतका देशहरूबाट नेपाल आउने पर्यटकहरूले आफ्नो डोमेस्टिक वालेट मार्फत् नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपे प्लसको नेटवर्कमा ६६ ओटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इस्युइङ उपकरण, ३०० भन्दा बढी अक्वायरिङ नेटवर्क र ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्ट आबद्ध रहेका छन् । अलिपे प्लसको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी, चाङ्गी पे, जीक्याश, अलिपेएचके, हाइपे, काकाओपे, टसपे, न्याभरपे, टीएनजीडी, पीबीबी, ट्रुमनी, एमपे, तिनाबा मार्फत् अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था छ ।

एनसीएचएलले अलिपे प्लससँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबिच भुक्तानी नियमित गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरूप अब एभरेस्ट बैंकसँग सोही भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।

नेसनल पेमेन्ट स्विच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रूपमा सञ्चालन हुनुका साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वाधार हो । हाल नेपालपे क्यूआरको नेटवर्कमा आठ लाख ५० हजारभन्दा बढी मर्चेन्ट (इन्टरअपरेबल क्यूआर समेत) आबद्ध छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १३:२७