close

नेपालपे क्यूआरमा जोडिए ३ लाख बढी मर्चेन्ट

टेकपाना टेकपाना

जेठ ३२, २०८० ९:३३

नेपालपे क्यूआरमा जोडिए ३ लाख बढी मर्चेन्ट

काठमाडाैं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा तीन लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् ।

नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल–क्यूआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी सञ्चालनमा ल्याएकाे नेपालपे क्यूआरमा हालै याे सङ्ख्यामा मर्चेन्ट जाेडिएका हुन् ।

क्यूआर स्किमको रुपमा पनि उपलब्ध नेपालपेले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्नसक्ने कम्पनीकाे भनाइ छ ।

हाल २३ बैंक वित्तीय संस्था तथा तीन भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहक यो प्रणालीमा आबद्ध हुन सक्छन् भने २१ बैंक वित्तीय संस्था तथा छ भुक्तानी सेवाप्रदायकका वालेटमार्फत स्क्यान एन्ड पेको सुविधा उपलब्ध छ ।

विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ईकमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्ड्रोइड पीओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा प्रयाेग गर्न सकिन्छ ।

''धेरैजसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था छ,'' कम्पनीले भनेकाे छ, ''नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेट प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।''

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० ९:४५