close

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको ६ दिनमै ६७ खर्ब बढीले थपियो एलन मस्कको सम्पत्ति

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १८:०

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको ६ दिनमै ६७ खर्ब बढीले थपियो एलन मस्कको सम्पत्ति

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति छ दिनमै ५० अर्ब डलर (करिब ६७ खर्ब ३५ अर्ब रुपैयाँ) भन्दा बढीले वृद्धि भएको छ । मस्कले समर्थन गरेका डोनल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएसँगै मस्कको सम्पत्ति लगातार आकाशिएको हो । 

अर्बपतिहरूको विवरण राख्ने ब्लुमबर्गका अनुसार ४ नोभेम्बरसम्म मस्कको कूल सम्पत्ति २६५ अर्ब डलर (करिब ३६५ खर्ब  ९८अर्ब रुपैयाँ) थियो । मङ्गलबार अर्थात ५ नोभेम्बरमा निर्वाचन सम्पन्न भई बुधबार मत गणना सम्पन्न भयो । त्यसमा ट्रम्पले कमला ह्यारिसलाई हराउँदै ४७ औं राष्ट्रपतिमा निर्वाचित भए । 

त्यस लगत्तै मस्कको सम्पत्ति बढ्ने क्रम सुरु भयो । ७ नोभेम्बरमा मस्कको सम्पत्ति २० अर्ब डलरले बढेर २८५ अर्ब डलर पुगेको थियो । यो समाचार तयार पार्दासम्म (सोमबार) उनको सम्पत्ति बढेर ३१४ अर्ब डलर (४२२ खर्ब ९८ अर्ब रुपैयाँ) पुगेको छ । 

सन् २०२१ मा मस्कको सम्पत्ति ३२० अर्ब डलर (अहिलेसम्मकै सबैभन्दा बढी) पुगेको थियो । तर, सन् २०२२ को सुरुवातमा उनको सम्पत्ति १८२ अर्ब डलरभन्दा बढीले घट्यो । यो अहिलेसम्म कुनै व्यक्तिले गुमाएको सबैभन्दा बढी रकम हो । 

तर, पछिल्ला केही महिनादेखि मस्कको सम्पत्ति पुनः आकासिने क्रम सुरु भएको छ । मस्कको अन्तरिक्ष प्रविधि सम्बन्धी कम्पनी स्पेस एक्सले हासिल गरेको ऐतिहासिक सफलता कारण उक्त कम्पनीको शेयर मूल्य बढेको बढ्यै छ । अहिले त झन् मस्कले तन, मन र धन दिएर समर्थन गरेका डोनल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भए । 

विजयी हुने पक्कापक्की भएपछि ट्रम्पले विजयी सभामा मस्कको खुलेरै प्रशंसा गरे । त्यस लगत्तै मस्कले लगानी गरेका टेस्ला, स्पेसएक्स, न्युरालिङ्क लगायतका कम्पनीको शेयर मूल्य बढ्न थाल्यो । उनले खुलेर समर्थन गरेका ट्रम्प विजयी भएसँगै अब सरकारमा मस्कलाई अनुकूल हुने किसिमका नीति नियम बन्ने अपेक्षा गरिएको छ । 

यसले गर्दा विद्युतीय सवारी, अन्तरिक्ष, आर्टिफिसियल इन्टेलिजेन्स र नवीनतमे प्रविधिको क्षेत्रमा मस्कलाई फाइदा पुग्ने विश्लेषण भइरहेको छ । मस्क मात्र होइनन्, ट्रम्प राष्ट्रपतिमा विजयी भइसकेपछि प्राविधिक क्षेत्रका अन्य अर्बपतिहरूलाई पनि फाइदा भएको छ । 

अमेजनका मालिक जेफ बेजोस, मेटा (फेसबुक) का मालिक मार्क जुकरबर्ग, ओराकलका मालिक ल्यारी इलिसन, माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, गुगलका संस्थापक द्वय ल्यारी इलिसन र सेर्गेइ बिन आदिको सम्पत्ति पनि बढिरेको छ । ट्रम्प राष्ट्रपति भए लगत्तै शीर्ष १० धनाढ्यको कूल सम्पत्ति ६४ अर्ब डलरले बढेको थियो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १८:०