close

अपरिचित महिलाले कल गरेकै भरमा डेटिङ गएका ५० वर्षीय पुरुष यसरी परे अपहरणमा

टेकपाना टेकपाना

कात्तिक २७, २०८१ ११:४०

अपरिचित महिलाले कल गरेकै भरमा डेटिङ गएका ५० वर्षीय पुरुष यसरी परे अपहरणमा

 

काठमाडौं । उत्तर प्रदेश भारतको ललितपुर भन्ने ठाउँका ५० वर्षीय लल्लु चौबेईलाई एक अपरिचित महिलाको नम्बरबाट कल आयो । कुरा भएको केही समयमै फोनबाटै महिलाले लल्लुलाई प्रेमको प्रस्ताव राखिन् । 

लल्लु सुरुमा के गर्ने भन्ने दोधारमा परे । महिलाले जोड गरेपछि उनले प्रेम प्रस्ताव स्वीकार गरे । त्यसपछि उनीहरूबीच केही दिन राम्रै कुरा भयो । एक दिन महिलाले लल्लुलाई झान्सी भन्ने ठाउँमा भेट्न बोलाइन् । तर, लल्लु पुगेको ठाउँमा एक महिला र दुई जना अरू युवकहरू थिए । लल्लुको साथमा भएको फोन खोसी उनलाई अपहरण गरियो ।

स्थानीय प्रहरीका अनुसार अपहरणकारीले लल्लुको छोरालाई फोन गर्दै फिरौती वापत तीन लाख भारु माग गरे । लल्लुका छोराले तत्काल एक लाख पठाइदिए । र, बाँकी पैसा खोजेर उपलब्ध गराउने बताए । 

त्यसपछि उनलाई केही व्यक्तिले प्रहरी कार्यालयमा उजुरी दिन सुझाव दिए । लल्लुका छोराले बुवा अपहरणमा परेको भन्दै उजुरी दिए । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार उजुरी परेपछि प्रहरीको टोली र ती व्यक्तिका छोरा थप फिरौती रकम उपलब्ध गराउने भन्दै अपहरणकारीको खोजीमा निस्किए ।

त्यसपछि प्रहरी फिरौती लिन आएका व्यक्तिमार्फत अपहरणकारीसम्म पुगेको हो । अपहरण गरिएको ठाउँबाट लल्लुलाई तत्काल उद्धार गरी तीन अपहरणकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३५ वर्षकी किरण, ३० वर्षका अखिलेश अहिवार र २७ वर्षीय सतिशसिंह बन्डेला रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार यस गिरोहमा अन्य थुप्रै महिलाहरू सक्रिय छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ ११:४०