काठमाडौं । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ युट्युबमा आएको छ । मङ्गलबार ओएसआर डिजिटल युट्युब च्यानलमा यस चलचित्र अपलोड भएको हो ।
“आजभन्दा १३ वर्षअघि ६ असोज २०६८ मा प्रदर्शन भइसकेको यो चलचित्र ६ असार २०८१ मा पुनः प्रदर्शनमा आएको थियो । भजन शिरोमणि आचार्यको निधनपछि उनका छोराहरू गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले चलचित्र पुनः सम्पादन गरी रिलिज गर्ने घोषणा गरेका थिए । त्यस लगत्तै यो चलचित्र प्रदर्शन भएको थियो ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा छन् । स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई चलचित्रमा देखाइएको आचार्यले बताए ।
“हाम्राे चलचित्र ‘आचार्य’ आजदेखि तपाईंहरुकाे चलचित्र भएकाे छ है ! अब जहाँ, जसरी अनि जतिबेला भएपनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ,” फिल्म युट्युबमा आएको घोषणा गर्दै सत्यराज आचार्यले फेसबुकमा लेखेका छन् ।
प्रशान्त रसाइलीले निर्देशन गरेको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।