काठमाडौं । पासवर्ड मेनेजर एप प्रदायक कम्पनी ‘नोर्ड पास’ले २०२४ का सबैभन्दा कमजोर पासवर्डको सूची सार्वजनिक गरेको छ । कम्पनीले छैठौं संस्करण अन्तर्गत हालै मात्र विश्वभरका प्रयोग भएका २०० कमजोर पासवर्डको सूची सार्वजनिक गरेको हो ।
नोर्डपासका अनुसार कमजोर पासवर्ड सूचीको शीर्ष स्थानमा ‘१२३४५६’ रहेको छ । यो पासवर्ड ३० लाखभन्दा बढी पटक प्रयोग भएको छ । यो पासवर्ड १ सेकेन्डभन्दा पनि कम समयमै क्रयाक हुने जनाइएको छ ।
त्यस्तै दोस्रो स्थानमा १२३४५६७८९ र तेस्रो स्थानमा १२३४५६७८ रहेको छ । चोथो स्थानमा भने ‘password’ रहेको छ । त्यसैगरी ‘qwerty’. qwerty1, 111111, 12345, secret लगायतका पासवर्ड क्रमशः पाचौं देखि नवौं स्थानमा छन् ।
कम्पनीले विभिन्न माध्यमबाट चोरी भएको २.५ टेराबाइट लगइन डेटाबेसको पासवर्ड विश्लेषण गरेको थियो । खासगरी यी पासवर्ड डार्क वेबमा लिक भएका थिए ।
नोर्डपासले नेपालमा प्रयोग हुने कमजोर पासवर्ड बारे जानकारी दिएको छैन । यद्यपि छिमेकी राष्ट्र भारतमा ‘123456’, ‘password’, ‘12345678’, ‘123456789’ र ‘abcd1234’ सबैभन्दा बढी प्रयोग हुने कमजोर पासवर्ड हुन् ।
नेपाली साइबर सुरक्षा विश्लेषकका अनुसार नेपाली प्रयोगकर्ताले राख्ने कमजोर पासवर्डहरू ‘kathmandu’, ‘nepal’, ‘nepal123’, ‘pokhara’, ‘sagarmatha’, ‘ ktm123’ र ‘dharan’ हुन् ।