close

बालबालिकाको अश्लील भिडिओ बनाई अनलाइनमा साथीहरूलाई शेयर गर्ने २४ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

कात्तिक ३०, २०८१ १७:४८

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतापुर गाउँपालिका वडा नं. ७ नवलपरासीका २४ वर्षीय अमन प्रताप हरिजन रहेका छन् ।

साइबर ब्युरोका अनुसार कार्यालयले पछिल्लो समय विभिन्न प्रविधिको सहयोग अनलाइनमा प्रसारण हुने सामग्रीहरूको निगरानीलाई गर्दै आएको छ । यसमा केही अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहकार्य गरेका छन् ।

त्यही क्रममा एउटा आईपी एड्रेसबाट बालयौन दुर्व्यवहारको भिडिओ गुगल ड्राइभमार्फत शेयर भइरहेको फेला पर्‍यो । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा हरिजन आरोपित देखिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए । 

अवस्थीका अनुसार आरोपित हरिजनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको सहयोगमा बिहीबार नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा आरोपी हरिजनले बालयौन दुर्व्यवहार गरेका भिडिओ आफू पनि हेर्ने र अरूलाई पनि शेयर गर्ने गरेको देखिएको छ ।

प्रहरी उपरीक्षक अवस्थीका अनुसार केही त्यस्ता भिडिओ भने हरिजन आफैंले रेकर्ड गरेर प्रसारण गरेका थिए । 

हरिजनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८१ १७:५३