close

साना उद्यमीलाई सघाउन उद्योग वाणिज्य महासंघमा विशेष केन्द्र स्थापना

टेकपाना टेकपाना

मंसिर ४, २०८१ १७:५१

साना उद्यमीलाई सघाउन उद्योग वाणिज्य महासंघमा विशेष केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा लघु, घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । सोमवार एक कार्यक्रमबीच काठमाडौंमा रहेको महासंघको केन्द्रीय कार्यालयमा केन्द्र स्थापना भएको हो ।

यस केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि र तालिम प्रदान गर्ने बताइएको छ । उद्यमीहरूलाई सशक्त बनाउन बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन र व्यवसाय रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराइने महासंघले जनाएको छ ।

त्यस्तै केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणहरू उपलब्ध गराउनेछ । यसका साथै आधुनिक उत्पादन प्रविधि, यसको प्रयोग र प्रक्रियागत सुधारहरू अपनाउन सहयोग गर्नेछ ।

केन्द्रले उत्पादित सामग्रीलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, व्यापार मेलाहरू, प्रदर्शनीहरू र अन्य व्यापार प्रवर्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन र विपद् व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि केन्द्रमा उपलब्ध हुने छ । व्यवसाय सम्बन्धी समस्याहरू समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्ने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८१ १८:३३